close

९९ देशमा पुग्यो स्टारलिङ्कको स्याटलाइट इन्टरनेट, कहिले आउला नेपाल ?

टेकपाना टेकपाना

जेठ ८, २०८१ १९:२५

९९ देशमा पुग्यो स्टारलिङ्कको स्याटलाइट इन्टरनेट, कहिले आउला नेपाल ?

काठमाडौं । स्याटलाइट कनेक्टिभिटीमा आधारित स्टारलिङ्कको इन्टरनेट विश्वका ९९ देशमा उपलब्ध भएको छ । सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीका मालिक एलन मस्कले स्टारलिङ्क इन्टरनेट ९९ देशका ३० लाख बढी प्रयोगकर्तामाझ पुगेको उल्लेख गरेका हुन् । 

हालै एसियाली मुलुक इन्डोनेसियामा भ्रमणमा आएका मस्कले सो देशमा पनि इन्टरनेट उपलब्ध भएको घोषणा गरेका थिए । इन्डोनेसियाका १७ हजार बढी टापुबाट स्टारलिङ्कको पहुँच पाउन सकिने उनले जानकारी दिए । “स्टारलिङ्क डटकमबाट दुई मिनेटमा सजिलै इन्टरनेट कनेक्सन अनलाइन अर्डर गर्न सकिन्छ,” मस्कले भनेका छन् ।

यसअघि स्टारलिङ्कले सन् २०२३ भित्र नेपालमा आफ्नो सेवा सुरु गर्ने योजना बनाएको थियो । त्यसै अनुरूप नियामक नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल सहितका पदाधिकारीसँग स्टारलिङ्कका प्रतिनिधिले भेटघाट तथा छलफल समेत गरेका थिए । 

त्यसबखत स्टारलिङ्कको म्यापमा नेपालमा २०२३ मा स्टारलिङ्क उपलब्ध हुने उल्लेख गरिएको थियो । अहिले भने नेपालमा सेवा उपलब्ध हुने दिन निश्चित नभएको उल्लेख गरिएको छ ।

स्टारलिङ्क नेपाल प्रवेश गर्न नेपालको कानून कसरी बाधक बन्यो भन्ने पढ्न यहाँ क्लिक गर्नुहाेस् । 

सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्टारलिङ्क इन्टरनेटका लागि नेपालमा बाटो खुलाउने सङ्केत दिएको छ । सो नीति तथा कार्यक्रमले भू-उपग्रहमा आधारित इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा गरेसँगै यस्तो अनुमान गरिएको छ ।

“दुर्गम र विकट क्षेत्रमा भू-उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८१ १९:३५