close

ब्याट्रीमा वैज्ञानिकलाई नयाँ सफलता, अब केही सेकेण्डको चार्जमै लामाे समय टिक्ने

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १२:१८

ब्याट्रीमा वैज्ञानिकलाई नयाँ सफलता, अब केही सेकेण्डको चार्जमै लामाे समय टिक्ने

काठमाडौं । छोटो समयकाे चार्जमा धेरै समय टिक्ने गरी ब्याट्रीमा वैज्ञानिकलाई नयाँ सफलता मिलेकाे छ । हाइब्रिड सोडियम आयनमा आधारित ब्याट्री विकासमा सफलता हासिल भएसँगै अब  छोटो समयकाे चार्जमा धेरै समयसम्म टिक्ने ब्याट्री प्रयोग गर्न सकिने भएको हो ।

कोरिया एड्भान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (केएआईएसटी) का अनुसन्धानकर्ताले यो सफलता हात पारेका हुन् ।

केएआईएसटीको मटेरियल्स साइन्स एन्ड इन्जिनियरिङ विभागका प्रोफेसर ज्युङ कु काङको नेतृत्वमा अनुसन्धान टोलीले हाइब्रिड ऊर्जा भण्डारण प्रणालीमा सफलता हात परेका हुन् । 

यो प्रणाली विकास गर्न वैज्ञानिकले ब्याट्री र सुपरक्यापेसिटर (ऊर्जा भण्डारण गर्ने एक प्रकारको डिभाइस) दुवैमा रहेको सामग्री प्रयोग गरेका छन् । यस अन्तर्गत ब्याट्रीको एनोड (नकारात्मक इलेक्ट्रोड) र सुपरक्यापेसिटरो क्याथोड (नकारात्मक इलेक्ट्रोड) प्रयोग गरेका छन् ।

यसअघिका सोडियम-आयन टेक्नोलोजीमा ऊर्जा घनत्व कम हुने तथा चार्जको समस्या रहेको छ । नयाँ प्रणालीले यी समस्या समाधान गरेको केएआईएसटीको दाबी छ । हाल बिजुली गाडीदेखि विभिन्न विद्युतीय उपकरणमा लिथियममा आधारित ब्याट्री प्रयोग हुन्छ ।

तर वैज्ञानिकका अनुसार प्रकृतिमा लिथियम भन्दा कयौं गुणा बढी सोडियम पाइन्छ । त्यसो हुँदा सोडियम-आयन ब्याट्री बनाउन स्रोतको कमी हुन्न । त्यस्तै सोडियम आयन ब्याट्रीलाई केही सेकेन्डकै चार्जमा लामो समय चलाउन सक्ने केएआईएसटीको वैज्ञानिकले बताएका छन् । 

अब यस ब्याट्रीलाई बिजुली सवारी साधन, विभिन्न विद्युतीय उपकरण तथा एरोस्पेस प्रविधिमा प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ । यस खोजले विश्वमा ऊर्जा भण्डारणको नयाँ क्रान्ति ल्याउने समेत अपेक्षा गरिएको छ । 

यस प्रणालीको अनुसन्धान पत्र पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १३:१७