close

बिजुली गाडीको माग घटेपछि एकै पटक ६ हजार बढी कर्मचारी निकाल्दै टेस्ला

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १६:३५

बिजुली गाडीको माग घटेपछि एकै पटक ६ हजार बढी कर्मचारी निकाल्दै टेस्ला

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको कम्पनी टेस्लाले एकै पटक छ हजार बढी कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । बिजुली गाडीको माग कम भएर मुनाफामा ह्रास आएपछि टेस्लाले ठूलो संख्यामा कर्मचारी निकाल्न लागेको हो । 

कम्पनीले बिक्री घटेको र बिजुली कार निर्माता बीचको प्रतिस्पर्धा अचाक्ली बढेकाले गत हप्ता आफ्नो कुल कर्मचारी संख्याको १० प्रतिशतलाई कामबाट निकाल्ने बताएको थियो । सोही अन्तर्गत टेस्लाले यो कदम चालेको हो । 

कम्पनीले क्यालिफोर्निया कार्यालयका तीन हजार ३३२ र टेक्सासका दुई हजार ६८८ कर्मचारी निकाल्ने बताइएकाे छ । यी कर्मचारी १५ जुनदेखि बिदा हुनेछन् । 

हालै नयाँ फ्याक्ट्रीहरूमा लगानी गरेको टेस्लाले ठूलो संख्यामा कर्मचारी कटौती गर्नुलाई अचम्मले हेरिएको छ । 

टेस्लाको यो कदमबाट कम्पनीको आन्तरिक कार्य सञ्चालनमा चुनौती आइरहेको बुझ्न सकिन्छ । त्यस्तै टेस्लाले आउँदा दिनमा अझ धेरै कर्मचारी निकाल्न सक्ने समेत सम्भावना छ । 

टेस्लाले एक्सिलेटर पेडलमा समस्या देखिएपछि केही दिनअघि मात्र ग्राहकहरूलाई बेचिसकेको सबै साइबर ट्रक फिर्ता बोलाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १६:४०