close

सेल्फ-ड्राइभिङ अर्थात् चालक विहीन गाडीदेखि किन त्रसित छन् मानिस ?

टेकपाना टेकपाना

बैशाख १२, २०८१ १४:१६

सेल्फ-ड्राइभिङ अर्थात् चालक विहीन गाडीदेखि किन त्रसित छन् मानिस ?

काठमाडौं । गत अक्टोबरमा चालकविहीन क्रुज गाडीले सान फ्रान्सिस्कोमा एक पैदल यात्रीलाई ठक्कर दियो । ठक्कर लागेका मानिसलाई चोटपटक लाग्यो। क्यालिफोर्नियाका अधिकारीहरूले क्रुजको कारण दुर्घटना भएको भन्दै आरोप लगाए र यसको सञ्चालन लाइसेन्स पनि निलम्बन गरियो । त्यसपछि क्रुज कम्पनीले भर्खरै एरिजोनामा सवारी साधनहरू पुन: प्रयोगमा ल्याएको छ ।

अमेरिकामा चालकविहीन वेमो र क्रुज गाडीले बाटोमा अवरोध गर्ने,  आपतकालीन सवारी साधनलाई अवरोध गर्ने वा सामान्यतया सडकमा अराजकता निम्त्याउने थुप्रै घटनाहरू भएका छन् । फेब्रुअरीमा सान फ्रान्सिस्कोको चाइनाटाउनमा भीडले चालकविहीन वेमो गाडी तोडफोड गरी आगो लगाइदिए ।

प्रविधिको विकाससँगै आएका सेल्फ-ड्राइभिङ गाडीहरूले सुरूमा मानिसहरूमा उत्साह जगाएको थियो । तर पछिल्लो समय यी सेल्फ-ड्राइभिङ गाडीहरूदेखि मानिसहरू त्रसित बन्दै गइरहेका छन् ।

मानिसहरूमा यस्ता गाडी कहिले निर्माण क्षेत्रमा ठोक्किन पुग्छन् भने कहिले एम्बुलेन्सको बाटो छेक्छन् भन्ने धारणा विकास हुँदै गइरहेको छ । साथै सडकको रातो बत्तीमा समेत गुडिरहने र साइकल चालक, पैदलयात्रीलाई समेत चोट पुर्याउने भएकाले यस्ता गाडीको छवी धमिलिँदै गइरहेको छ ।

थुप्रै सेल्फ-ड्राइभिङ गाडीहरू हरेक दिन सुरक्षित रूपमा चलिरहेता पनि कहिलेकाहीँ हुने एकाध घटनाले मानिसमा त्रास फैलाइरहेका छन् । आज क्यालिफोर्निया, अरिजोना, टेक्सास लगायत अन्य क्षेत्रमा सुरक्षित रूपमा यस्ता गाडी चलिरहेका छन् र यसको संख्या बढ्दै गइरहेको छ । तर जब यिनले गल्ती गर्छन्, मानिसहरूकाे ध्यान त्यसैमा गइदिन्छ। जसले गर्दा यस्ता गाडीहरूप्रति थुप्रै मानिस नकारात्मक भएको देखिन्छ ।

सेल्फ-ड्राइभिङ गाडी उद्योगले मानिसहरूमा विकास भइरहेको धारणा थप नकारात्मक हुन नदिन काम गरिरहेको छ । यही क्षेत्रमा रहेको द अटोनोमस भेहिकल इन्डस्ट्री एसोसिएसनले क्रुज, वेमो, जुक्स, मोशनल लगायत अन्यको प्रतिनिधित्व गर्छ । यही एसोसिएसनले १७ अप्रिलमा “ट्रस्ट प्रिन्सिपल” जारी गरेको छ, जसले सेल्फ-ड्राइभिङ गाडीहरूप्रति जागेको नकारात्मक धारणाको अन्त्य गर्न मदत गर्ने विश्वास लिइएको छ ।

एसोसिएसनका सीईओ जेफ फराहले एक विज्ञप्ति जारी गर्दै भने, "सेल्फ-ड्राइभिङ सवारी साधनहरूलाई सार्वजनिक विश्वास र स्वीकृतिको लागि आवश्यकता छ र अटोनोमस भिआइकल(एभी) उद्योगले त्यो विश्वास कमाउन र कायम राख्नै पर्छ ।"

एसोसिएसनले एभी अपरेटरहरूले जनतासँग अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन ल्याउन आह्वान गरिरहेको छ । एसोसिएसनले आपतकालीन समयमा एभी अपरेटरसँगको सञ्चार सुधार गर्न सरोकारवालाहरूसँगको एउटा राष्ट्रिय काउन्सिल नै बनाएको छ ।

सार्वजनिक विश्वासको कमीको कारणले सडकमा सेल्फ-ड्राइभिङ कारहरूप्रति मानिसहरू निरुत्साहित हुँदै गइरहेका कारण यस काउन्सिलले विश्वास फर्काउनुका साथै मानिसहरूलाई रोमाञ्चित बनाउने र गुमेको विश्वास जगाउने सक्ने अनुमान गरिएको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ १६:१८