close

प्रेमीलाई खुसी पार्न दिदीले आफ्नै बहिनीको अश्लील भिडिओ पठाएपछि...

टेकपाना टेकपाना

जेठ ११, २०८० ९:१९

प्रेमीलाई खुसी पार्न दिदीले आफ्नै बहिनीको अश्लील भिडिओ पठाएपछि...

काठमाडौं । आफ्नो प्रेमी वा प्रेमिकालाई खुसी पार्न मानिसहरू धेरैथोक गर्न तयार हुन्छन् । तर हालैको एउटा घटना सुन्नुभयो भने तपाईँ सुरुमा विश्वास गर्नुहुन्न । नेपाल प्रहरीले यस्ताे घटना बाहिर ल्याएकाे छ, जहाँ दिदीले आफ्नै बहिनीको अश्लील भिडिओ बनाएर प्रेमीलाई पठाउँछिन् ।

साइबर ब्यूरोले अनुसन्धानका लागि प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले उक्त घटना पत्ता लगाएको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार उक्त टुलले छ महिनाअघि एउटा बालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओको अलर्ट पठाएको थियो ।

"विभिन्न किसिमका साइबर अपराधको अनुसन्धान गर्नका लागि हामी एआई टुलको प्रयोग गरिरहेका हुन्छौं," प्रवक्ता रायले टेकपानासँग भने, "छ महिनाअघि हामीलाई एआई टुलले बालिकाको यौन भिडिओ हेरिरहेका पुरुषको जानकारी पठाएर अलर्ट गराएको थियो ।"

सो एआई टुल (गोपनीयताका हिसाबले नाम खुलाउन नमिल्ने) ले बाल यौन दुर्व्यवहारको भिडिओ हेरिरहेको पुरुषको जानकारी ब्यूरोलाई पठाएपछि कार्यालयको टिमले अनुसन्धान सुरु गर्‍यो ।

उक्त घटनामा अनुसन्धान गर्दै जाँदा दिदीले आफ्नै बहिनीको अश्लील भिडिओ बनाएर प्रेमीलाई पठाएको पाइएको रायले बताए । उनका अनुसार प्रेमीलाई भिडिओ पठाउने ती युवतीमाथि नै उनको परिवार निर्भर थियो । त्यसैले युवतीलाई सम्झाइबुझाइ गरेर छाडियाे ।

उक्त एआई टुल प्रयोग गरी बालबालिकासँग सम्बन्धित अश्लील भिडिओ हेर्नेहरू पत्ता लगाई उनीहरूविरुद्ध मुद्दा चलाउने गरेको राय बताउँछन् ।

"अहिलेसम्म बालबालिकाको अश्लील भिडिओ हर्ने ३६ जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा चलाइसकेका छौं," उनले भने, "कसैले बालबालिकाको अश्लील भिडिओ बनाएर हेरेको छ भने सूचना हामीकहाँ आइपुग्छ । भिडिओ बनाउने र हेर्ने सबैमाथि मुद्दा चल्छ । मैले भिडिओ हेरेको मात्र हो भनेर उम्किने अवस्था छैन ।"

रायले सामाजिक सञ्जालमा अश्लील भिडिओ हेर्न भन्दै पठाएका लिङ्क नखोल्न सुझाव दिए । केही गरी भिडिओ हेरे मात्र पनि कारबाहीको भोगी हुनुपर्ने उनले चेतावनी दिए ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८० ९:१९