close

आईफोन १४ प्रो म्याक्सबाट खिचिँदै नेपाली फिल्मको सम्पूर्ण दृश्य

टेकपाना टेकपाना

असोज १, २०८० १४:२३

आईफोन १४ प्रो म्याक्सबाट खिचिँदै नेपाली फिल्मको सम्पूर्ण दृश्य

काठमाडौं । नेपालमा पहिलो पटक आईफोन १४ प्रो म्याक्सबाट चलचित्रको छायाङ्कन गरिने भएको छ । क्राइम विधामा आधारित फिल्म 'अ प्लेस अन्डर द सन'को सम्पूर्ण दृश्य आईफोनबाट छायाङ्कन हुने भएको हो ।

जेसन लोप्चनको निर्देशनमा बन्न लागेको फिल्मलाई प्रविन लिम्बूले छायाङ्कन गर्नेछन् । "हामीले अनुसन्धान गर्दा विदेशमा फोनको क्यामेराबाट खिचेका धेरै फिल्म भए पनि नेपालमा हामीले निर्माण गर्न लागेको फिल्म पहिलो भएको पायौं," टेकपानासँग कुरा गर्दै फिल्मका निर्देशक लोप्चनले भने, "यो दुई घण्टाको फिल्म क्राइम ड्रामामा आधारित छ ।"

वन स्क्वाड फिल्म्सले निर्माण गर्न लागेको फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहनेछ ।

लोप्चनका अनुसार २५ दिनको समयमा यो फिल्म चितवनमा ८० प्रतिशत र काठमाडौंमा २० प्रतिशत छायाङ्कन हुनेछ ।

फिल्मको छायाङ्कनका लागि गिम्बलमा आईफोन १४ र स्ट्यान्डमा राखेर खिच्नलाई आईफोन १४ प्रो म्याक्स प्रयोग हुने उनले जनाए । स्टोरेजका सन्दर्भमा छायाङ्कनमा प्रयोग हुने आईफोनको स्टोरेज ५१२ जीबी रहेको छ ।

अस्कर कलेजबाट फिल्म क्षेत्र (निर्देशन तथा लेखन)मा स्नातक गरेका लोप्चनले हालै सेफर्ड कलेज अफ मिडिया एन्ड टेक्नोलोजीबाट मिडिया एन्ड टेलिभिजनमा स्नातकोत्तर गरेका छन् ।

"अहिलेसम्म फिल्म निर्माणका काम क्यामेराबाटै गर्दै आइरहेको अवस्था छ," लोप्चनले भने, "एउटा नयाँ प्रयोग गरौं भनेर पनि हो । अनि हाम्रो आफ्नै कम्पनीबाट बनाउन लागेकाले सीमित बजेटमा बनाउनुपर्ने भयो, त्यसैले आईफोनबाट फिल्म खिच्न लागेका हौं ।"

अमेरिकन फिल्म निर्देशक स्टिभन सोडनबर्गले स्तरीय फिल्म आईफोन सिक्स तथा सेभेन जस्ता डिभाइसले खिचेको थाहा पाएपछि उनैबाट प्रभावित भएर पनि यही कन्सेप्टले फिल्म निर्माण गर्न लागेको लोप्चनले सुनाए ।

क्यामेराको सन्दर्भमा त्यसका लागि आवश्यक पर्ने अन्य उपकरण र क्यामेरै पनि महँगो पर्ने भएकाले उनी र उनको टिमले फिल्म आईफोनबाट खिच्ने योजना बनाएका हुन् ।

विशेषगरी कथा, पटकथा, संवाद लगायतका कुराहरू ओजनदार छन् भने सामान्य बजेटमा पनि स्तरीय फिल्म बनाउन सकिन्छ भनेर प्रमाणित गर्न फिल्म निर्माण गर्न लागेको उनले बताए ।

"आफ्नो समयको सदुपयोग पनि हुने, अनि नयाँ प्रयोग पनि हुने भएकाले फिल्म बनाउन आँटेका छौं," उनले भने ।

फिल्मका लागि लोकेसन सबै सेट भइसकेको र अब छायाङ्कनकाे काम चाँडै हुने लोप्चनको भनाइ छ । त्यस लगत्तै फिल्मको अन्य पाटोमा काम गरेर २०२४ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य रहेको उनले सुनाए ।

लोप्चनले ग्यालेक्सी फोरके टिभीबाट प्रसारण भएको ‘क्राइम पेट्रोल’को निर्देशन समेत गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०८० ६:२०