close

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

टेकपाना टेकपाना

कात्तिक २७, २०८० १३:४६

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने निर्णय भएको उनले बताइइन् ।

''अहिले रोक लगाउने, र यसका निम्ति आवश्यक प्राविधिक तयारीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा लगाउने निर्णय भएको छ,'' मन्त्री शर्माले भनिन् । 

उनले अगाडि भनिन्, ''बन्द गर्नुभन्दा खोल्नु ठीक हो भन्ने निष्कर्षमा समाज पुग्यो भने प्रतिबन्ध खुलाउन सकिएला, तर अहिलेका लागि बन्द भयो ।'' 

मन्त्रिपरिषद्ले केही दिनअघि मात्र सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको थियो, जसमा सामाजिक सञ्जाल प्लेटफर्ममाथि नियमन गर्नुपर्ने विषयहरू समावेश छन् । तर टिकटकलाई नियमन गर्नुको सट्टा बन्द नै गर्ने निर्णयमा सरकार पुगेको छ । 

२०१६ मा शर्ट भिडिओ शेयरिङ प्लेटफर्मका रूपमा पहिलो पटक सार्वजनिक भएको टिकटकका नेपालमा पनि लाखौं सक्रिय प्रयोगकर्ता छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८० १८:४५