close

८५ लाख विन्डोज डिभाइसमा समस्या आएपछि माइक्रोसफ्टले ल्यायो रिकभरी टुल

टेकपाना टेकपाना

साउन ९, २०८१ ६:२५

८५ लाख विन्डोज डिभाइसमा समस्या आएपछि माइक्रोसफ्टले ल्यायो रिकभरी टुल

काठमाडौं । क्लाउडस्ट्राइक एन्टिभाइरसको अपडेटमा भएको त्रुटिका कारण ८५ लाखभन्दा बढी विन्डोज डिभाइसहरू प्रभावित भएपछि माइक्रोसफ्टले रिकभरी टुल सार्वजनिक गरेको छ । शुक्रबार विश्वभरका यी कम्प्युटरहरू क्लाउडस्ट्राइकको नयाँ अपडेट इन्स्टल गर्ने क्रममा बन्द भएका थिए ।

माइक्रोसफ्टले उक्त समस्या समाधान गर्न बुटएबल यूएसबी ड्राइभ तयार पार्न सकिने रिकभरी टुल ल्याएको हो । यस टुलको सहायताले आईटी व्यवस्थापकहरूले प्रभावित डिभाइसहरूलाई छिट्टै मर्मत गर्न सक्नेछन् ।

क्लाउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा देखिएको समस्या अर्को अपडेट मार्फत समाधान गरेको छ । तर, यसअघिको अपडेटले 'ब्लु स्क्रिन अफ डेथ' समस्या उत्पन्न गरेको थियो, जसका कारण धेरै इन्टरप्राइज ग्राहकहरूले समस्याको सामना गर्नुपरेको थियो । केही डिभाइसहरूले समस्या स्वतः समाधान गरे भने केहीलाई म्यानुअल रूपमा समाधान गर्नुपर्ने बाध्यता आयो ।

कतिपय प्रयोगकर्ताहरूले थुप्रै पटक डिभाइस रिबुट गरेर अपडेट इन्स्टल गर्दा समस्या समाधान भएको प्रतिक्रिया दिएका छन् । अन्यले भने सेफ मोडमा डिभाइस बुट गरी क्लाउडस्ट्राइकको त्रुटिपूर्ण फाइल मेटेर समस्या समाधान गरेको जनाएका छन् ।

माइक्रोसफ्टको नयाँ रिकभरी टुलले यो प्रक्रियालाई कम म्यानुअल बनाउने जनाएको छ । यस टुलले यूएसबीको माध्यमबाट विन्डोज पीई वातावरण बुट गरिन्छ, अनि समस्या भएको डिस्क पहिचान गरी स्वतः फाइल डिलिट गर्छ । 

रिकभरी टुल डाउनलोड गर्न र थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

 

 

पछिल्लो अध्यावधिक: साउन ९, २०८१ ६:२५