काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै उत्पादित ग्रीन हाइड्रोजन इन्धनबाट चल्ने कार चढेका छन् । शुक्रवार काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्तको दोस्रो चरणमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले हाइड्रोजन गाडी चढुनका साथै हाइड्रोजन रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् ।
सो क्रममा ओली विश्वविद्यालय परिसरबाट दीक्षान्त समारोहसम्म हाइड्रोजन कारमा चढेर पुगेका थिए । योसँगै उनी नेपालमा उत्पादित हाइड्रोजन इन्धनबाट चल्ने कारमा चढ्ने पहिलो प्रधानमन्त्री बनेका छन् ।
उद्घाटनपछि उनले विश्वविद्यालयमा हाइड्रोजन सम्बन्धी विद्यावारिधि गर्दै गरेका शोधकहरूर्तासँग अन्तरक्रिया समेत गरेका थिए । त्यसक्रममा उनले नेपाल सरकारले आवश्यक पर्ने नीति नियमहरूको तर्जुमा गर्दै ग्रीन हाइड्रोजन प्रविधिलाई व्यावसायिक प्रयोजनमा सकेसम्म चाँडो लैजाने प्रतिबद्धता जनाए ।
विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा वि.सं. २०७७ साउनदेखि ग्रीन हाइड्रोजन ल्याब स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ । जसमा युरिया मल कारखानाको सञ्चालन, फलाम खनिजको प्रशोधन तथा सिमेन्ट उद्योगहरूमा कोइलाको विस्थापनका लागि समेत ग्रीन हाइड्रोजनको प्रयोग गर्नेगरी अनुसन्धान भइरहेको छ ।
ग्रीन हाइड्रोजनमा उत्पादनमा विश्वविद्यालयले सफलता हात पारे पनि त्यसको व्यावसायिक प्रयोग हुन अझै समय लाग्ने देखिन्छ । त्यसैलाई मूर्तरूप लिन सरकारले राष्ट्रिय हाइड्रोजन नीति २०८० पारित गरिसकेको छ । अहिले उक्त नीति कार्यान्वयन गर्न आवश्यक ऐन, नियम, निर्देशिका र कार्यविधि निर्माणका क्रमका रहेका छन् ।