काठमाडौं । सरकारले टिकटकमाथि लागेको प्रतिबन्ध औपचारिक रूपमा हटाएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटेको जानकारी दिएको हो ।
“नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवाप्रदायक र मोबाइल सेवाप्रदायकलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,” सूचनामा भनिएको छ ।
यससँगै अब सम्पूर्ण इन्टरनेट तथा मोबाइल सेवाप्रदायकको नेटवर्कबाट टिकटक चल्ने भएको छ । यसअघि केही सीमित सेवाप्रदायकले आफ्नो नेटवर्कमा टिकटक चल्ने बनाएका थिए ।