close

फेसबुकमा #BMW क्याप्सन राखिएका पोस्ट किन भइरहेका छन् भाइरल ?

टेकपाना टेकपाना

मंसिर ३०, २०८१ १२:५९

फेसबुकमा #BMW क्याप्सन राखिएका पोस्ट किन भइरहेका छन् भाइरल ?

काठमाडौं । तपाईं फेसबुक प्रयोग गर्नुहुन्छ भने पक्कै पनि #BMW क्याप्सन राखिएका पोस्ट पक्कै देख्नु भएकै होला । पोस्ट नेपाली भए पनि त्यसमा अङ्ग्रेजीमा ‘Ten unknown facts about #BMW’ क्याप्सन लेखिएको देखिन्छ । 

कतिपयले यस्तै पोस्टको आडमा प्रयोगकर्तालाई अनावश्यक लिङ्कहरूमा पुर्‍याइरहेका हुन्छन् । कतिपयले प्रयोगकर्तालाई जति लिङ्क क्लिक गरायो, त्यति नै पैसा कमाउन सकिने प्रोग्राममा भाग लिएका हुन्छन् । लिङ्कमा क्लिक गराउने लोभले केहीले यस्ता पोस्ट गरिरहेका हुन्छन् । आखिर केही फेसबुक पेज सञ्चालकले किन जुनसुकै पोस्टमा #BMW ट्याग राखेका होलान् ?  यो राख्दा उनीहरूलाई के फाइदा हुन्छ होला ?

सबैभन्दा पहिलो कुरा यी पोस्ट ‘लिस्टिकल’ (बुँदागत) फर्म्याटमा राखिएका हुन्छन् । यो फेसबुकका लागि धेरै चर्चित फर्म्‍याट पनि हो । सूचीका रूपमा पोस्ट राख्दा प्रयोगकर्तालाई पढ्न सजिलो हुन्छ । यस्तोमा पोइन्टहरू छोटा हुनेभएकाले धेरै प्रयोगकर्ता पढ्न खोज्छन् । लामा पोस्ट पढ्न नसक्नेहरूका लागि यस्ता पोस्ट उपयुक्त मानिन्छन् । 

त्यस्तै कुनै विश्वचर्चित कम्पनीका बारेमा जान्ने चासो अधिकांशलाई हुन्छ । त्यसैले यस्तो कन्टेन्ट प्रयोगकर्ताको रोजाइमा पर्छ । उनीहरू ती पोस्ट पढ्छन्, लाइक कमेन्ट वा शेयर गर्छन् । यस्तो हुँदा इङ्गेजमेन्ट बढ्छ । 

 

अब कुरा गरौं फेसबुक एल्गोरिदमको । फेसबुकले सधैं ती पोस्टलाई बढी महत्त्व दिन्छ जसले धेरै लाइक, कमेन्ट वा सेयर पाउँछन् । विशेषगरी बीएमडब्ल्यू वा कारका फ्यानहरू ‘अज्ञात तथ्यहरू’ (Unknown Fact) भन्ने खालका पोस्टहरूलाई सजिलै मन पराउँछन् वा शेयर गर्छन् । जति धेरै मानिसहरूले प्रतिक्रिया जनाउँछन्, फेसबुकले त्यो पोस्ट अरू मानिसलाई देखाउन थाल्छ । यसरी नै पोस्ट फैलिन्छ ।

#BMW ट्याग पनि यस्ता पोस्टको लोकप्रियताको अर्को कारण हो । बीएमडब्ल्यू प्रेमीले ह्यासट्याग मार्फत यस्ता पोस्ट सजिलै पत्ता लगाउन सक्छन् । बीएमडब्ल्यू विश्वभर निकै लोकप्रिय भएकाले यस किसिमका पोस्टहरू सजिलै भाइरल हुन्छन् । एक पटक बीएमडब्ल्यूसँग सम्बन्धित कुनै पोस्ट भाइरल भएपछि, अन्य पेज वा प्रयोगकर्ताले त्यस्ता पोस्टको सफलता देख्छन् र आफ्नै पोस्ट बनाउन थाल्छन् ।

यदि तपाईंले ‘Ten unknown facts about #BMW’ भनेर ट्याग गर्नुभयो भने तपाईंको पोस्टको एक्सेस बढ्नेछ । एल्गोरिदमको यो तरिका केवल सामान्य फेसबुक प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेका छैनन् । विभिन्न संस्थाले पनि यो विधि प्रयोग गरिरहेका छन् । विशेषगरी मार्केटिङमा यस्तो ट्याग बढी प्रयोग भइरहेको छ ।

यो ट्रेन्डिङ ह्यासट्याग सामाजिक सञ्जाल मार्केटिङका टुलमध्येको एक हो । सङ्क्षेपमा भन्नुपर्दा तपाईंको फिडमा बीएमडब्ल्यू पोस्टको बाढी आउनुको मुख्य कारण फेसबुकको एल्गोरिदम र बीएमडब्ल्यू प्रेमीहरूको ठूलो सङ्ख्याको प्रभाव हो । सबै हिसाबले हेर्दा कुनै सामग्री वा पोस्टको एक्सेस वा भाइरालिटी बढाउन यो एउटा रणनीति अपनाउने गरेको देखिन्छ ।

-शेइख सुरज (मिडियम)

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८१ १३:२७