काठमाडौं । सामसङले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस २५ एज’को झलक देखाएको छ । २२ जनवरीमा आयोजित अनप्याक्ड कार्यक्रमको लाइभ भिडिओको अन्त्यमा कम्पनीले एस २५ एजको झलक देखाएको हो ।
अनप्याक्ड इभेन्टमै पुगेका प्रविधि समीक्षकहरूले पनि फोन देख्न मात्र पाएको बताएका छन् । भारतीय युट्युबर अरुण प्रभुदेसाइ उर्फ ट्रेकइन टेकले एक शर्ट भिडिओ राख्दै एस २५ एजको बारेमा चर्चा गरेका छन् । “सामसङको अनप्याक्ड इभेन्टको अन्तिममा एउटा सरप्राइज आएको छ,” उनले भनेका छन्, “त्यो हो सामसङ एस २५ एज । यो निकै नै पातलो छ । यसको चौडाइ त्यस्तै ६.४ वा ६.५ एमएम छ । धेरै केही विवरण दिइएको छैन ।”
स्पेनको बार्सिलोनामा हुने आगामी मोबाइल वर्ल्ड कङ्ग्रेसमा यो फोन सार्वजनिक हुने अपेक्षा गरिएको छ । कार्यक्रममा उपस्थित टम्स गाइडका एक पत्रकारले फोनको भिडिओ बनाउँदै आफ्नो प्रारम्भिक धारणा व्यक्त गरेका छन् । उनले यो फोन देखेर आफू उत्साहित भएको तर केही कुरामा अन्यौल भएको बताएका छन् ।
ग्यालेक्सी एस २५ एजको उल्लेखनीय विशेषता भनेको यसको पातलो डिजाइन हो । कार्यक्रममा देखिएअनुसार यो फोन एकदमै पातलो छ । यसअघिका अफवाहलाई विश्वास गर्ने हो भने यो फोन ६.४ मिलिमिटर पातलो हुनेछ । जबकि ग्यालेक्सी एस २५ अल्ट्रा ८.२ मिलिमिटर बाक्लो छ ।
फोनको क्यामेरा बम्प अलिकति बाहिर निस्केको छ । तर समग्रमा फोन एकदमै स्लिम र आकर्षक देखिन्छ । तुलनात्मक रूपमा आईफोन १७ एयर ५.५ मिलिमिटर पातलो हुने चर्चा छ, तर यो कुरा अहिलेसम्म पुष्टि भएको छैन । यसले गर्दा सामसङले पातलो फोनको बजारमा प्रतिस्पर्धा गर्न खोजेको देखिन्छ ।
एस २५ एजको क्यामेरा सेटअपमा केही परिवर्तन देख्न सकिन्छ । यसमा पछाडि दुई ओटा मात्र क्यामेरा हुनेछन् । जबकि ग्यालेक्सी एस २५, एस २५ प्लस र एस २५ अल्ट्रामा कम्तीमा पनि तीन ओटा क्यामेरा छन् । दुई ओटा क्यामेरामध्ये एउटा मुख्य क्यामेरा र अर्को अल्ट्रा-वाइड लेन्स हुने अनुमान गरिएको छ । तर, कम्पनीले अल्ट्रा-वाइडलाई विस्थापित गरी टेलिफोटो जुम लेन्स राख्न सक्छ ।
यदि मुख्य क्यामेरा २०० मेगापिक्सेलको हो भने डिजिटल जुमबाट काम चलाउन सकिनेछ । तर, यसमा टेलिफोटो लेन्स नहुँदा धेरैले यसलाई रुचाउने सम्भावना कम छ ।
एस २५ एजमा ६.७ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ । यो ग्यालेक्सी एस २५ प्लसको जत्रै हो, तर ६.९ इन्चको एस २५ अल्ट्राभन्दा सानो हो ।
यो सामसङको पहिलो फोन हुन सक्छ जसमा ट्यान्डम ओएलईडी डिस्प्ले प्रयोग गरिएको छ । ट्यान्डम ओएलईडी डिस्प्लेमा दुई ओटा ओएलईडी प्यानलहरू प्रयोग हुन्छन् । यसले गर्दा डिस्प्ले पातलो हुन्छ र उज्यालो पनि धेरै दिन्छ । एप्पलले आफ्नो आइप्याड प्रो एम ४ मा पनि यही प्रविधि प्रयोग गरेको छ । यस प्रविधिले ब्याकलाइटको आवश्यकतालाई हटाउँछ ।
एस २५ एजको आधिकारिक सार्वजनिक मिति र मूल्यबारे धेरै जानकारी सार्वजनिक भएको छैन । तर, पहिलेका अनुमान अनुसार यो फोन मे महिनामा सार्वजनिक हुन सक्छ, जुन एस २५ सिरिज र ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को बीचमा पर्छ ।
मूल्यको कुरा गर्दा यो ग्यालेक्सी एस २५ प्लस (सुरुवाती मूल्य ९९९ डलर) भन्दा कम पर्ने देखिन्छ । तर, पातलो भएकैले मूल्य त्योभन्दा बढी पनि हुन सक्छ । तर तेस्रो क्यामेरा नभएकोले धेरैले १२०० डलरभन्दा बढी तिर्न नचाहन सक्छन् ।
एस २५ एजको नामलाई लिएर धेरै मानिसहरू अन्यौलमा परेका छन् । सामसङले पहिले एस ७ एजजस्ता घुमाउरो डिस्प्ले भएका फोनहरू बेच्थ्यो, तर यो फोनमा फ्ल्याट डिस्प्ले छ । सामसङले पातलो फोनलाई जनाउन ‘एज’ नाम पुनः प्रयोग गरेको देखिन्छ । कतिपयले यसलाई आईफोन १६ को नक्कल पनि भनेका छन् । तर, समग्रमा एस २५ एज आकर्षक फोन देखिन्छ । यद्यपि यसले एस २५ अल्ट्रा अपग्रेड गर्न चाहनेहरूलाई केही समय पर्खिन बाध्य पार्ने देखिन्छ । टिकटक, युट्युब र अन्य सामाजिक सञ्जालमा पनि यस फोनको बारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् ।