close

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउको माग गर्दै सामाजिक सञ्जालमा चलाइयो #ArrestGyanendra अभियान

टेकपाना टेकपाना

चैत १६, २०८१ १६:२८

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउको माग गर्दै सामाजिक सञ्जालमा चलाइयो #ArrestGyanendra अभियान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र अभियान चलेको छ । शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाहबारे पोस्ट राख्दै प्रयोगकर्ताहरूले पक्राउ गर्न माग गरेका हुन् ।

शनिबार राजधानीको तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शनले उग्र रूप लिएपछि त्यसलाई नेतृत्व गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाई र पूर्वराजाशाहलाई तत्काल पक्राउ गर्न उनीहरूले माग गरेका छन् ।

एक्समा प्रकाश पौडेलले गृहमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, “हिजोको नरसंहारको मुख्य योजनाकारलाई कहिले पक्राउ गर्ने ? निर्मल निवासमा बसेर हत्या, लुटपाट, डकैतीको योजना बुन्ने ज्ञानेन्द्रलाई अझै पनि संरक्षण किन ? जनतालाई भ्रम छर्ने सफ्ट कन्टेन्ट बनाउन लगाउने अपराधीलाई कारबाही कहिले ?”

त्यस्तै, सन्तोष नामका प्रयोगकर्ताले पूर्वराजा ज्ञानेन्द्रलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

फेसबुकमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले लेखेका छन्, “हिजोको नरसंहारको मुख्य योजनाकारलाई कहिले पक्रिने गृहमन्त्रीज्यू ? एकदिन अगाडि निर्मल निवासमा कथित कमाण्डरलाई बोलाएर हत्या, लुटपाट, डकैतीको योजना बनाउने, लाखौं संख्यामा फलोअर भएका फेसबुक पेज किनेर हिंसालाई आन्दोलनको रूपमा ग्लोरीफाई गर्ने सफ्ट कन्टेन्ट बनाउन लगाउने मुख्य योजनाकार ज्ञानेन्द्र कहिले पक्राऊ पर्छ ? मानव हत्यारा ज्ञानेन्द्रलाई पक्राउ गर ।”

त्यसैगरी याशिर खाम्बोले पनि ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र राख्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गरेका छन् । उनले गृहमन्त्रीलाई प्रश्न गर्दै लाखौं फलोअर भएका फेसबुक पेजबाट हिंसालाई आन्दोलनको रूपमा प्रस्तुत गर्ने र निर्मल निवासमा बसेर हिंसा भड्काउने ज्ञानेन्द्रलाई कहिले पक्राउ गर्नुहुन्छ भनी सोधेका छन् ।

प्रायःले एकै किसिमका पोस्ट र क्याप्सन राखेर ह्याशट्याग अभियानलाई जोड दिइरहेका छन् ।

तर, केही प्रयोगकर्ताहरू भने पूर्वराजाको समर्थनमा पनि देखिएका छन् । सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले उनलाई नेपालका स्थायित्व र राष्ट्रियताको प्रतीकका रूपमा चित्रित गर्दै पक्राउको मागलाई आलोचना गरेका छन् । केही पोस्टहरूमा #IamWithGyanendra ह्यासट्यागसहित प्रयोगकर्ताले देशको संकटमा पूर्वराजाको निर्णायक भूमिका हुनसक्ने बताएका छन् । उनीहरूले राजनीतिक अस्थिरताको मुख्य कारण नै वर्तमान व्यवस्था भएको दाबी गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८१ १६:५३