close

आईफोन १६ भन्दा आईफोन १७ को क्यामेरामा के हुनेछ खास फिचर ?

टेकपाना टेकपाना

बैशाख २१, २०८२ ११:१४

आईफोन १६ भन्दा आईफोन १७ को क्यामेरामा के हुनेछ खास फिचर ?

काठमाडौं । एप्पलको आईफोन १७ सार्वजनिक हुन अझै केही महिना बाँकी छ । तर हालै सार्वजनिक भएका डमी मोडेल र लिक भएका विभिन्न जानकारीले फोनको क्यामेरामा हुनसक्ने परिवर्तनबारे अनुमान लगाउन सकिने आधार दिएका छन् ।

एप्पलबारे जानकारी दिने प्लेटफर्म म्याक र्‍युमर्सका अनुसार एप्पलले केही मोडेलमा नयाँ क्यामेरा फिचर थप्ने तयारी गरेको छ । त्यसका साथै क्यामेरा बम्प (उठेको भाग) को डिजाइन परिवर्तन गर्ने तयारी गरिरहेको देखिन्छ । बाहिरिएका डमी मोडेलको विश्वसनियतामा शङ्का हुन सक्छ तर विगतका वर्षमा यी डमी मोडेल एप्पलको डिजाइन परिवर्तनको सही प्रतिविम्ब साबित भएका छन् । 

यी डमी मोडेलको जानकारी प्रायः मोबाइल कभर (केस) निर्माताले पत्ता लगाउने गर्छन् । नयाँ डिभाइसका लागि बजारमा सबैभन्दा पहिले कभर ल्याउनुमा ठूलो आर्थिक फाइदा हुने भएकाले पनि यस्ता कम्पनीले डमी मोडेलको जानकारी बाहिर ल्याउने गर्छन् ।

एप्पलको आगामी आईफोन १७ का क्यामेरामा हुन सक्ने परिवर्तनबारे म्याक र्‍युमर्सको रिपोर्टलाई आधार मानेर यहाँ चर्चा गरिएको छ । 

आईफोन १६ का सबै मोडेलमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यस वर्ष सार्वजनिक हुने आईफोन १७ का सबै मोडेलमा भने २४ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने अपेक्षा गरिएको छ । आईफोन १७ सिरिजमा कम्पनीले ल्याउने यो एक महत्त्वपूर्ण सुधार हो । यसले गर्दा प्रयोगकर्ताले सेल्फी खिच्दा गुणस्तर नगुमाएर नै तस्विरलाई अझ बढी क्रप गर्न सक्नेछन् । साथै, कम लाइटमा राम्रो पर्फमेन्स र फोटोमा थप डिटेल देखिने अपेक्षा गर्न सकिन्छ ।

आईफोन १७ प्रो
पहिलो पटक आईफोन १७ प्रो र प्रो म्याक्समा तीनवटै ४८ मेगापिक्सेलका लेन्स हुने‍ विभिन्न लिकरले बाहिर ल्याएको जानकारीले देखाएको छ । बाहिरिएका विवरण अनुसार आईफोन १७ को प्रो र प्रो म्याक्स मोडेलमा ४८ मेगापिक्सेलको मुख्य लेन्स, ४८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र नयाँ ४८ मेगापिक्सेलको टेट्राप्रिज्म टेलिफोटो लेन्स हुनेछ । नयाँ अल्ट्रा वाइड लेन्स आईफोन १६ प्रोमा ल्याइएको थियो भने । त्यही अपग्रेड गरिएको टेलिफोटो लेन्स २०२५ मा आईफोन १७ को प्रो सिरिजको मुख्य क्यामेरा विशेषता हुनेछ ।

४८ मेगापिक्सेलको टेलिफोटो लेन्सले गर्दा प्रयोगकर्ताले डिटेल नगुमाईकनै टाढाका वस्तुलाई अझ नजिकबाट खिच्नका लागि तस्विरलाई थप क्रप गर्न सक्नेछन् ।

एप्पलले यस वर्ष क्यामेराको मार्केटिङ भिडिओमा केन्द्रित गर्ने योजना बनाएको छ । आईफोन १७ प्रो मोडेलले आईफोन १६ प्रो मोडेलको फोर के भिडियो रेकर्डिङ क्षमतालाई बढाएर एट के भिडियो रेकर्डिङ सपोर्ट गर्न सक्नेछ । साथै नयाँ मोडेलमा डुअल भिडियो रेकर्डिङको फिचर हुने सम्भावना उच्च छ । यसले गर्दा प्रयोगकर्ताले एकै पटक अगाडि र पछाडिको क्यामेराबाट भिडियो रेकर्ड गर्न सक्नेछन् ।

लिक भएका जानकारी अनुसार आईफोन १७ प्रो मोडेलमा मेकानिकल एपर्चर हुनेछ । यसले प्रयोगकर्तालाई लेन्समा पुग्ने प्रकाशको मात्रा एडजस्ट गर्ने अप्सन दिनेछ । एप्पलले अहिलेसम्म फिक्स्ड एपर्चर मात्र प्रयोग गरेको छ । 

क्यामेरामा हुने यी सबै सुधारसँगै क्यामेराको डिजाइनमा पनि ठूलो परिवर्तन हुने देखिन्छ । अहिलेसम्म प्रयोगमा आएको वर्गाकार क्यामेरा बम्पको सट्टा एप्पलले यसलाई आयाताकार बनाउनेछ । आईफोन १७ प्रो र प्रो म्याक्सको पछाडि तेर्सो क्यामेरा बार हुने बताइएको छ । त्यसमा क्यामेरा राखिने छन् । लेन्स पहिलेकै जस्तो त्रिभुजाकार ढाँचामा एकै ठाउँमा रहनेछन् । तर फ्ल्यास, माइक्रोफोन र लाइडार सेन्सरलाई आयाताकार बारको अर्को छेउमा दायाँतिर सारिने जनाइएको छ । एप्पलले यो डिजाइन परिवर्तन किन गर्दैछ भन्ने स्पष्ट छैन ।

आईफोन १७ एयर
आईफोन १७ एयर कम्पनीले ल्याउने सबैभन्दा पातलको फोन हुने बताइएको छ । फोन पातलो हुने भएकाले यसको भित्री भाग सीमित हुन्छ । त्यसैले यसमा एउटा मात्र ४८ मेगापिक्सेलको फ्युजन क्यामेरा हुनेछ । पर्याप्त ठाउँको अभावले यसमा अल्ट्रावाइड वा टेलिफोटो लेन्स हुने छैन । लिक भएका विभिन्न जानकारी र हल्लाका अनुसार यो फोन ५.५ एमएम मोटाइको हुनेछ ।

आईफोन १७ एयरमा पनि आईफोन १७ प्रो जस्तै पछाडिपट्टि तेर्सो क्यामेरा बार हुनेछ । तर यो एउटा मात्र लेन्स अटाउनुपर्ने भएकाले त्यति लाम्चो हुने छैन । क्यामेरा लेन्स बायाँतिर हुनेछ भने फ्ल्यास र माइक्रोफोन दायाँतिर हुनेछन् ।

एउटा मात्र क्यामेरा भएकाले आईफोन १७ एयरले स्पेसियल भिडियो वा स्पेसियल फोटो खिच्न सक्ने छैन । यस्ता फोटो र भिडिओ एप्पलको भिजन प्रो हेडसेटमा हेर्नका लागि उपयुक्त हुन्छ ।

आईफोन १७ (स्ट्यान्डर्ड)
२४ मेगापिक्सेलको फ्रन्ट-फेसिङ क्यामेरा सुधार बाहेक आईफोन १७ (स्ट्यान्डर्ड)को बारेमा अरू केही सुनिएको छैन । आईफोन १७ को पछाडिको क्यामेरा आईफोन १६ को जस्तै देखिनेछ । यसमा बायाँ छेउमा ठाडो रूपमा दुई ओटा लेन्स हुनेछन् ।

स्ट्यान्डर्ड आईफोन १७ मा एप्पलले आईफोन १७ प्रो र आईफोन १७ एयर मोडेलका लागि ल्याउन लागेको जस्तो तेर्सो क्यामेरा बार हुने देखिँदैन । सेन्सर सुधारको बारेमा पनि कुनै जानकारी बाहिर आएको छैन । तर, यती मात्र विशेषता हुन्छ भन्न सकिँदैन । आईफोन १७ मा ४८ मेगापिक्सेलको मुख्य (फ्युजन) क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहने अपेक्षा गरिएको छ । यी फोन सेप्टेम्बर मध्यतिर सार्वजनिक हुनेछन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ ११:५१