काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सेतो बाथरोब लगाएको अवस्थामा एक युवतीसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा उक्त तस्बिर सार्वजनिक गरेपछि यो फोटो चर्चामा आएको हो ।
बालेनका सल्लाहकार कुमार बेनका अनुसार भाइरल भइरहेको उक्त तस्बिर बालेनकी श्रीमती सबिना काफ्लेले खिचेकी हुन् । यो तस्बिर गत फागुनको होलीको समयमा बालेन सपरिवार बुटवलको मणिग्रामस्थित विश्राम बाटिका होटलमा गएका बेला खिचिएको थियो ।
बेनले टेकपानासँग भने, “अहिले भाइरल भइरहेको फोटो होलीको बेलाको हो । फोटो सबिना भाउजूले खिच्नुभएको हो ।”
सामाजिक सञ्जालमा तस्बिरले व्यापक चर्चा पाएपछि बालेनकी श्रीमती सबिनाले बुधबार त्यहीबेला खिचिएका अन्य तस्बिर पनि सार्वजनिक गरेकी छन् । तस्बिर सार्वजनिक गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा लेखेकी छिन्, “आफ्नो पार्टीको नामसहित नाम र नम्बर कमेन्टमा दर्ता गर्नुहोस्, अरू पनि कन्टेन्ट दिन सक्छु ।”
ती अन्य तस्बिरमा महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि देखिन्छन् ।
वास्तवमा भाइरल भइरहेको यो तस्बिर यसअघि नै तस्बिरमा देखिएकी युवती जस्मिन खरेल (जो आफूलाई डीजे बताउँछिन्) ले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेकी थिइन् । उनले यो तस्बिर सन् २०२५ मार्च १५ मा पोस्ट गरेकी थिइन् (मार्च १३ मा पहाडी क्षेत्रमा र मार्च १४ मा तराईमा होली मनाइएको थियो)।
प्रवक्ता मानन्धरले भने त्यसको झन्डै एक महिनापछि ८ अप्रिलमा योहो टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा उक्त तस्बिर देखाउँदै आफूलाई कतैबाट प्राप्त भएको बताएका थिए । मानन्धरले फोटो सार्वजनिक गर्दै व्यक्तिगत चरित्रमाथि आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बालेन सचिवालयले उनीसँग गल्ती स्वीकार गरी लिखित प्रतिबद्धता पेस गर्न पत्राचार गरेको थियो ।
फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । केहीले बालेन आफ्नो पदको गरिमा बिर्सिएर परस्त्रीसँग बाथरोबमा देखिएको भन्दै आपत्ति जनाएका भने केहीले यो फोटो एडिट गरिएको हुनसक्ने आशङ्का गरेका छन् ।