कोड फर नेपाल र टेकपानाको साझेदारीमा १ हजार जनालाई ४४,००० पर्ने एआई-डेटा साइन्स तालिम निःशुल्क
कसरी दिने आवेदन ?
साउन ५, २०८३ २१:४६
काठमाडौं । कोड फर नेपालले कम्तीमा १,००० जना नेपालीहरूलाई उच्च मागमा रहेका डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी निःशुल्क तालिम दिने भएको छ । टेकपानासँगको साझेदारीमा संस्थाले 'डेटा फेलोशिप २०२६' को घोषणा गरेको हो ।
कार्यक्रमलाई थप प्रभावकारी र समावेशी बनाउन तथा देशैभरका दुर्गम क्षेत्रका युवाहरू माझ यसको पहुँच पुर्याउन कोड फर नेपालले नेपालको अग्रणी प्रविधि केन्द्रित डिजिटल सञ्चारमाध्यम टेकपानासँग रणनीतिक साझेदारी गरेको छ । सन् २०२१ देखि कोड फर नेपालले विश्वप्रसिद्ध अनलाइन लर्निङ प्लेटफर्म डेटाक्याम्पसँग 'डेटाक्याम्प डोनेट्स' कार्यक्रम अन्तर्गत सहकार्य गर्दै आएको छ ।
यस साझेदारी मार्फत फेलोशिपमा छनोट हुने नेपालीहरूले डेटाक्याम्पको प्रिमियम पाठ्यक्रममा एक वर्षसम्म नि:शुल्क र असीमित पहुँच पाउनेछन् । जसको वार्षिक शुल्क प्रति प्रयोगकर्ता ३३० अमेरिकी डलर (करिब ४४,००० नेपाली रुपैयाँ) पर्न आउँछ ।
यो पहलले नेपालको प्रविधि क्षेत्रमा सिधै ५ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको इन-काइन्ड (वस्तुगत) सहयोग भित्र्याएको छ । यस सहकार्यमार्फत हालसम्म ३,००० भन्दा बढी नेपाली युवाहरूलाई एआई र डेटा सीपमा सशक्त बनिसकेको कोड फर नेपालले जनाएको छ ।
कोड फर नेपालका संस्थापक रवि कुमारले भने, "प्राविधिक र डिजिटल सीप बिना नेपालले यस क्षेत्रको 'डिजिटल हब' बन्ने आफ्नो परिकल्पना साकार पार्न सक्दैन । कोड फर नेपालले नेपालको डिजिटल रूपान्तरणको एजेन्डामा योगदान पुर्याउँदै हजारौँ नेपालीहरूलाई अवसर प्रदान गर्न र देशमा ५ करोड रुपैयाँभन्दा बढीको इन-काइन्ड सहयोग भित्र्याउन पाएकोमा हामी अत्यन्तै खुसी छौं ।"
यो डेटा फेलोशिप नेपाली युवाहरूको करियर परिवर्तन गर्न र उनीहरूलाई प्रविधिको विश्व बजारमा प्रतिस्पर्धी बनाउन कोसेढुङ्गा साबित भइसकेको छ । यस कार्यक्रमका भूतपूर्व फेलोहरू (Alumni) ले नेपालका अग्रणी प्राविधिक कम्पनीहरू जस्तै क्लाउडफ्याक्ट्रीमा रोजगारी पाउन सफल भएका छन् भने कतिपयले अमेरिका र विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूमा पूर्ण छात्रवृत्तिसहित उच्च शिक्षा हासिल गरिरहेका छन् ।
सन् २०२६ को यो संस्करणमा टेकपानासँगको साझेदारीले प्रविधि क्षेत्रमा रहेको डिजिटल खाडल (Digital Divide) लाई कम गर्न थप मद्दत पुर्याउने विश्वास गरिएको छ । यसले देशका कुनाकाप्चा र दुर्गम क्षेत्रका प्रतिभावान् युवाहरूलाई पनि यो विश्वस्तरीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ ।
टेकपानाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय तिमल्सिनाले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, "देशका लागि अत्यन्तै महत्त्वपूर्ण र यति ठुलो स्तरमा नेपालीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न कोड फर नेपालसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।"
कसरी हुने सहभागी ?
फेलोशिप अन्तर्गत डेटाक्याम्प (DataCamp) का प्रिमियम डेटा साइन्स र एआई कोर्सहरूमा १ वर्षसम्म नि:शुल्क र असीमित पहुँच प्राप्त हुनेछ ।
प्रविधि, डेटा एनालिटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा करियर बनाउन इच्छुक र उत्सुक सम्पूर्ण नेपालीहरू यसका लागि आवेदन दिन योग्य हुनेछन् ।
इच्छुक आवेदकहरूले यससम्बन्धी विस्तृत जानकारी र आवेदन दिने प्रक्रियाका लागि कोड फर नेपालको वेबसाइटवा फेलोशिप २०२६ को आधिकारिक लिंकमा गएर आवेदन दिन सक्नेछन् ।
फेलोशिप सम्बन्धी थप अपडेट र सामुदायिक छलफलका लागि कोड फर नेपालको आधिकारिक लिंक्डइन प्रोफाइल समेत फलो गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: साउन ५, २०८३ २१:४६
