Scam Exposed: टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ
साउन ११, २०८३ ८:१
काठमाडौं । ललितपुरकी ३१ वर्षीया रमिला शर्मा (नाम परिवर्तन) को टिकटक ‘फर यू पेज’ मा एउटा चाँदीको लकेटको विज्ञापन देखियो । विज्ञापन गर्ने पेजको नाम थियो ‘SKS ONLINE SHOP’ । उक्त भिडिओमा देखिएको लकेटको मूल्य जम्मा ९ हजार रुपैयाँ थियो । शर्माले प्रोफाइल हेरिन् । उक्त अकाउन्टलाई झन्डै ८ हजार अकाउन्टबाट फलो गरिएको थियो ।
बायोमा लोकेसन ‘भक्तपुर राधेराधे चोक’ र स्मार्ट सेलको ह्वाट्सएप नम्बर ‘९८०१७७२९४८’ राखिएको थियो । शर्माले उक्त नम्बर ह्वाट्सएपमा डायल गरिन् र कुरा गर्न थालिन् ।

पसले भनिएका व्यक्तिले निकै नम्र भावमा कुरा गर्न थाले । शर्माले पठाएको भिडिओमा देखिएको लकेटको चर्चा गरे र भने, “म्याम, यो ६ हजारदेखि ९ हजार रुपैयाँसम्म पर्छ । हजुरलाई कति लामो चाहिने हो त्यसमा भर पर्छ ।” शर्माले आफ्नो आवश्यकता उल्लेख गरिन् । शर्माको आवश्यकता अनुसारको लकेट बन्ने भएपछि उनले कति रकम पठाउनु पर्ने भनेर सोधिन् । ती पसले भनिएका व्यक्तिले भने, “म्याम, अर्डर गर्नुपर्छ हामीले । अहिले दुई हजार रुपैयाँ एड्भान्स पठाइदिनु न ।”
शर्मा प्रविधिमा केही दख्खल राख्ने महिला थिइन् । उनले डिजिटल वालेटमा ईस्क्रो नामको फिचर हुन्छ भन्ने थाहा पाएकी थिइन् । ईस्क्रो भनेको यस्तो फिचर हो जहाँ वालेट कम्पनी मध्यस्तकर्ताको रूपमा रहन्छ । सामानको अर्डर कन्फर्म गरेपछि रकम पठाउँदा ईस्क्रोमार्फत पठाउँदा बीचमा वालेट कम्पनीले होल्ड गर्छ । र, रकम पठाउने व्यक्तिले सामान पाएको खण्डमा सामान बेच्ने व्यक्तिलाई रकम पठाउँछ । तर, सामान नपठाएको खण्डमा रकम जुन व्यक्तिले पठाएको हो उसलाई रिफन्ड गरिदिन्छ ।
तर, ती पसले भनिएका व्यक्तिले इसेवामा लिमिट लागेकाले बैंक अकाउन्टमै पठाइदिन आग्रह गरे । शर्माले पनि दुई हजार रुपैयाँ पठाइदिइन् । यो गत बुधबारको कुरा हो । अर्डर कन्फर्म भएपछि शर्मा सामान डेलिभरी हुने आशमा बसिन् । तर, शुक्रबारसम्म पनि सामान आइपुगेन । त्यसपछि उनले त्यही अकाउन्टमा मेसेज गर्दै अपडेट मागिन् ।
त्यसपछि उक्त पसले भनिएका व्यक्तिले जे भने त्यसले शर्माको सातो लियो । उनले भनेका थिए, “ब्यालेन्स त आइपुगेकै छैन । हजुरले पैसा पठाएको देखिने फाइल त पठाउनु भयो । तर, हाम्रो बैंकमा आएकै छैन ।” शर्माले सोधिन्, “के गर्ने त अब ?” पसलेले बैंकमा गएर बुझ्न आग्रह गरे ।
शर्मा आफ्नो बैंकमा पुगिन् र आफ्नो समस्या राखिन् । तर, बैंकका कर्मचारीले रकम कतै पनि होल्ड नभएको उल्लेख गरे । फेरि शर्माले त्यही पसलेलाई सम्पर्क गरेर बैंकको अपडेटबारे जानकारी दिइन् । त्यसपछि पसलेले भने, “तपाईंलाई पनि समस्या भयो । तर, यो होल्ड नै भएको हो । एकपटक स्टेटमेन्टमा गएर स्क्रिनशट पठाउनुस् त ।” शर्माले स्क्रिनशट लिइन् । र, त्यहाँ देखिएको ओपनिङ र क्लोजिङ अकाउन्ट ब्लर गरेर पठाइन् ।
ती पसले भनेका व्यक्तिलाई होल्ड भएको रकमसँग मतलबै थिएन । उनलाई त शर्माको बैंक खातामा कति रकम छ भन्ने जानकारी चाहिएको थियो । तर, शर्माले ब्लर गरेर पठाइन् । त्यसपछि ती व्यक्तिले शर्मालाई अडियो कल गरे । पछि भिडिओ कलमा शिफ्ट गरी स्क्रिनशेयर गर्न लगाए । र, त्यहीबाट शर्माको खातामा एक लाख रुपैयाँ बढी भएको थाहा पाए ।
त्यसपछि एउटा क्यूआर कोड पठाए । र, त्यसलाई स्क्यान गर्न भने । शर्माले पनि ती व्यक्तिको लहलहैमा लागेर क्यूआर कोड स्क्यान गरिन् । त्यसपछि ती व्यक्तिले रिमार्क्समा कोड राख्न लगाए । त्यो कोड थियो, “To Refund money 2010 0097843.21” । यसमा उल्लेख भएको २०१० रिफन्ड पाउनुपर्ने रकम र पछाडिको ००९७८४३.२१ अर्डर कोड हो भनिएको थियो । यसरी विश्वस्त पारेर तलको कोड भनिएको अङ्क ‘००९७८४३.२१’ लाई कपी गरेर माथिको बक्समा पेस्ट गर्न भनियो । यसरी घुमाएर भनेपछि शर्माले त्यो रकम राख्ने बक्स हो भन्ने भेउ नै पाइनन् ।
त्यसबाहेक पछाडि शून्य राखिएका ५०००, १००००, २००००० लगायत मात्र रकम हो भनेर झट्ट रिड गर्ने मस्तिष्कले अगाडि शून्य राखिएको ‘००९७८४३.२१’ पनि रकम हुन्छ भन्ने ठम्याउनै सकेन । शर्माले रकम फिर्ता पाउने आशले अन्तिममा पिन नम्बर पनि राखेर पठाइन् । लगतै उनको खाताबाट ९७ हजार ८४३ रुपैयाँ २१ पैसा गायब भयो । अर्थात जुन ट्र्याकिङ कोड भनिएको थियो त्यो वास्तवमा रकम थियो ।
रकम लुटिएको थाहा पाउने बित्तिकै शर्माले त्यही अकाउन्टमा मेसेज गरेर रकम फिर्ता गरिदिन आग्रह गरिन् । त्यसपछि उक्त अकाउन्ट सञ्चालकले भने, “झुक्किएर तपाईंको पैसा हाम्रोमा आएको रहेछ । म फिर्ता गरिदिन्छु ।” त्यसपछिको एक घण्टासम्म रकम नै आएन । त्यसपछि शर्माले किन रकम आएन भनेर मेसेज गरिन् । तर, रिप्लाई आएन । त्यसपछि हतार हतार उनले साइबर ब्युरो गुहारिन् ।
टेकपानासँगको कुराकानीमा शर्मा भन्छिन्, “सुरु देखि नै मिठो लबजमा कुरा गर्यो । अकाउन्ट पनि धेरैले फलो गरेका थिए । मलाई त्यसैले विश्वस्त बनायो ।” अमाउन्ट भनेको रकम हो भन्ने बुझ्नु भएन भन्ने प्रश्नमा शर्माले भनिन्, “कलमा यसरी भुलायो कि त्यही दुई हजार रुपैयाँ फिर्ता आउँछ भन्ने आश भयो । पहिले ब्लर गरेर पठाएको थिए । पछि कलमा त्यो ध्यानै भएन ।”
साइबर ब्युरोमा शुक्रार नै उजुरी दिएको भए पनि उक्त टिकटक अकाउन्ट अहिले पनि सक्रिय छ । यतिसम्मकी ग्राहक बनेर सम्पर्क गर्ने हो भने अहिले पनि रिप्लाई आउँछ । अहिले सक्रिय नै नभएको स्मार्टसेलको नम्बरबाट खोलिएको ह्वाट्सएप अकाउन्टबाट च्याट गरिएको छ जसमा फोन लाग्दैन ।
हाम्रा अन्य श्रृङ्खलाहरूः
Scam Exposed: टिकटकमा १५ हजार फलोअर भएको अकाउन्टले सस्तोमा दराज बेच्ने भन्दै यसरी ठग्यो ३० हजार
Scam Exposed: टिकटकमा भेटेको २ हजारको हेल्मेटले यसरी क्षणभरमै रित्यायो खातामा भएको १८ हजार
Scam Exposed: टिकटकमा १७ सयको र्याक अर्डर गर्दा डाक्टरले क्षणभरमै गुमाए साढे २ लाख रुपैयाँ
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ ८:२
