Scam Exposed: टिकटकमा भेटेको २ हजारको हेल्मेटले यसरी क्षणभरमै रित्यायो खातामा भएको १८ हजार
चैत २५, २०८२ १६:५८
काठमाडौँ । टिकटक स्क्रोल गरिरहँदा भक्तपुरकी सम्झना क्षेत्री (नाम परिवर्तन) ले आकर्षक हेल्मेट बिक्रीका लागि राखेको देखिन् । ७ हजार बढी फलोअर रहेको स्टिलबर्ड हेल्मेट (STEELBIRD HELMET) नामक टिकटक अकाउन्टमा त्यस्ता दर्जनौँ भिडिओ थिए, जहाँ हेल्मेटको विज्ञापन गरिएको थियो ।
उनले भिडिओबाट हेल्मेटको स्क्रिनशट लिइन् र ‘९७०१५३०८५१’ नम्बरमा ह्वाट्सएप मेसेज पठाइन् । “यो हेल्मेट लार्ज साइजमा अभाइलेभल छ र ?”, भनेर सोधिएको उनको प्रश्नको जवाफ १५ मिनेटपछि आयो, “हजुर अभाइलेभल छ । कुन ठाउँको लागि होला ?”

सम्झनाले आफ्नो लोकेसन दिइन् । मूल्य पनि चित्त बुझ्दो थियो । त्यसमाथि हेल्मेट निःशुल्क डेलिभरी गरिने भनिएको थियो । “त्यसोभए मेरो लोकेसनमा पठाइदिनुस् न त,” सम्झनाले भनिन् । “तर, सेलमा भएकाले एड्भान्स त पठाइदिनु पर्छ,” पसलेले जवाफ फर्काए ।
म्झनालाई शङ्का लागेको त थियो । तर, म विचार गरेर खबर गर्छु भनिन् । वास्तवमा उक्त अकाउन्टबाट हेल्मेट ‘क्याश अन डेलिभरी’ अर्थात् सामान पाएपछि भुक्तानी गर्दा हुने भनेर प्रचार गरिएको थियो । तर, एड्भान्स रकम माग्दा उनी दोधारमा परिन् ।

सम्झनाका लागि यो खासै ठुलो समस्या थिएन । त्यसैले उनले केही समयपछि कुन कुन साइजको उपलब्ध छ भनी सोधिन् । जवाफ ‘फ्रि साइजमा छ’ भन्ने आयो ।

२४ घण्टामै डेलिभरी हुन्छ; त्यसका लागि ५०० वा हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने भनियो । सम्झनाले बुधबार मेसेज गर्दै शुक्रबारसम्म डेलिभरी गर्दा हुने बताइन् ।

“रकम दिन दिनुपर्ने भनेर १००० रुपैयाँ उनीहरूले पठाएको क्यूआर कोडमा पठाइदिएँ,” उनले टेकपानासँग कुरा गर्दै भनिन् ।

बिहीबार उताबाटै मेसेज आयो, “तपाईंको फोन अफ रहेछ ।” वास्तवमा सम्झनाले दुबईको ह्वाट्सएप नम्बरबाट सम्पर्क गरेकी थिइन् । र, हाल उनी नेपालमा भएकाले त्यो नम्बरमा फोन सम्पर्क हुने कुरै थिएन । ती पसले भनिएका व्यक्तिले मौका पाए र भनिहाले, “तपाईंको फोन अफ छ अरे, चेक गरेर दिनुस् न ।”
त्यसपछि सम्झनाले आफ्ना ग्राहकसँग राम्रोसँग कुरा गर्नु भनेर सम्झाइन् । त्यसपछि ती पसलेले कुरियरले हैरान पारेकाले त्यस्तो बोलेको बताउँदै माफी मागे । सम्झनाले मेसेजमा भनिन्, “मैले शुक्रबार डेलिभरी गरिदिनु भनेको हजुरले बिहीबार नै खबर गर्नुभयो । म आज अभाइलेभ हुन्न । भोलि कति बजे तिर आइपुग्ला ?” उताबाट पसलेले १२-१ बजेसम्म भन्ने जवाफ दिए ।
र, उनले आफू उपलब्ध नहुने भएकाले दिदीलाई सम्पर्क गरेर सामान डेलिभर गर्न भनिन् । भोलि अर्थात् शुक्रबार भने ती पसलेको मेसेज नै आएन । १२ बजेसम्म मेसेज नआउँदा उनी आफैँले सम्पर्क गरिन् र डेलिभरी खै भनेर सोधिन् । त्यसपछि पसलेले ‘तपाईंले पाउनु भएको छैन र ?’ भन्दै उल्टै प्रतिप्रश्न गर्यो । सम्झनाले पाएको छैन भन्दा पसलेले डेलिभरी ब्वाईलाई सम्पर्क गर्नु भन्दै एउटा नम्बर उपलब्ध गरायो ।
सम्झनाले डेलिभरी ब्वाईलाई सम्पर्क गरिन् । तर, उसले पनि अनेक बहाना बनाउन थाल्यो । ‘तपाईंको कोड आएको छैन, तपाईंको सामान सल्लाघारीसम्म मात्र आउँछ’ भन्दै बहाना बनाउन थाल्यो । त्यसपछि सम्झनाले पसलेलाई सामान रिसिभ गर्ने दिदीको नम्बर उपलब्ध गराइन् । र, पसलेले उनको दिदीलाई फोन गर्यो ।
तर, फेरि यता सम्झनालाई पनि प्रलोभन देखाउन थाल्यो । “खै के इरर आयो । तपाईंको सीओडी शून्य रै’छ । फेरि १००० रुपैयाँ पठाउनुस् त । तपाईंले सामान पाएपछि कत्ति पनि तिर्नु पर्दैन,” पसलेले भन्यो । सम्झनाले पुनः १००० रुपैयाँ पठाइन् । तर, उताबाट ती पसलेले कुनै सम्पर्क नै गरेनन् । यता ‘९७०९८५९०९६’ नम्बरबाट मेसेज आयो ।
सम्झनाले त्यो नम्बर डेलिभरी ब्वाईको भन्ने ठान्दै आफ्नो लोकेसन पठाइन् । उसले कल गर्यो । कलमा आफूलाई उपलब्ध सिस्टममा सम्झनाले रकम नै नपठाएको देखियो भन्न थाल्यो । सम्झनाले पुरै अर्थात् दुई हजार रुपैयाँ पठाइसकेकी थिइन् । र, उनले ‘मैले रकम सबै पठाएको छु’ भन्दै स्क्रिनशट पठाइन् ।
त्यसपछि सम्झनालाई स्टेटमेन्ट पठाउन भनियो । किन स्टेटमेन्ट पठाउन भनियो होला ? वास्तवमा यो सबै स्क्यामको जालो थियो । सम्झनाको खातामा कति रकम छ भन्ने थाहा पाउन स्टेटमेन्ट मागिएको थियो ।
सम्झनाने स्क्रिनशट पठाइन् । खातामा १८ हजार ५६० रुपैयाँ देखिएको थियो । स्क्यामरले यही एउटा ट्रिक लगाए -त्यो पुरै रकमबाट सकेजति रकम हत्याउने ।

त्यसपछि स्क्यामरले पार्सल कोड पठाउनु भन्यो । जबकी सम्झनासँग पार्सल वा पसल कोड केही पनि थिएन । त्यो केबल झुक्याउने जुक्ति मात्र थियो । पछि डेलिभरी ब्वाई भनिएको अकाउन्टबाट कोड आयो - ०१६३७८.५३ ।

यता सम्झनाले पठाएको दुई हजार रुपैयाँ बीचमै कतै अड्किएकाले फिर्ता पाउने प्रक्रिया अपनाउन भनियो ।

र, अर्को क्यूआर कोड पठाइयो । सम्झनाले उक्त क्यूआर बैङ्किङ एपबाट स्क्यान गरिन् । त्यसपछि उनलाई ‘अमाउन्ट’ लेखेको ठाउँमा उक्त कोड राख्न र रिमार्क्स लेख्न भनियो । त्यसपछि कन्टिन्यु गर्न भनियो । सम्झनाले कन्टिन्यु गरिन् । यता बैङ्कबाट १६ हजार ३७८.५३ रुपैयाँ कट्यो ।

“रकम त सामान्यतः पोइन्टमा वा जिरोबाट सुरु त हुन्न नि ! यसमा झुक्याउनलाई उसले कोडको नाममा रकम पठाएको रहेछ,” सम्झना भन्छिन्, “हतारमा ख्यालै गरिएन । पछि हेरेको खाताबाट १६ हजार चोरिएको रहेछ ।” हेल्मेटको रकम बापतको दुई हजार र बैङ्कबाट लुटिएको १६ हजार गरी उनले क्षणभरमै १८ हजार रुपैयाँभन्दा बढी गुमाउन पुगिन् ।
उनले रकम फिर्ताका लागि अनेक तरिका अपनाइन् । तर, स्क्यामर पूर्ण रूपमा बेपत्ता भइसकेका थिए । पछि सम्झनाले उक्त पसलको टिकटक अकाउन्टका भिडिओ हेरिन् । त्यसमा प्रयोग हुने आवाज अर्कै वास्तविक पसलको थियो । सम्झनाले उक्त पसलमा बुझ्न खोज्दा स्क्यामरले अडियो दुरुपयोग गरिरहेको भन्ने खबर पाइन् ।
हुन त सम्झनाले पसले भनिएका स्क्यामरसँग कुरा गरिरहँदा ‘लोकेसन’ सोधेरको बेला ठगिन लागेको चाल पाइसकेकी थिइन् । स्क्यामरले लोकेसन बनेपाको ‘बुडोल गैरी पेट्रोल पम्प’को पारिपट्टि भनेको थियो । संयोगले सम्झनाको गाउँको घर पनि बनेपामै थियो । तर उनले त्यो नामको पेट्रोल पम्प कहिल्यै सुनेकी नै थिइनन् । “हतार पनि थियो । अरूलाई सोध्न सकिने अवस्था पनि थिएन । केही समय भइसकेको थियो, बनेपा नगएको । त्यो ठाउँमा नयाँ पेट्रोल पम्प खुल्यो होला भन्ने लाग्यो । तर, त्यो सबै झुटो रहेछ,” उनी भन्छिन् ।
अङ्ग्रेजीमा समेत पोख्त सम्झनाले ‘अमाउन्ट’ भनेको रकम हो भन्ने नै ख्याल गरिनन् । स्क्यामरले पठाएको क्यूआर कोड रकम फिर्ता पाउने क्यूआर कोड हो भन्ने उनलाई लाग्यो । तर, नेपालमा कुनै क्यूआर कोड स्क्यान गर्दा रकम फिर्ता पाइने सुविधा नै छैन भन्ने सम्झनाले बुझिनन् ।
अझ हैरान पारिदिने कुरा के छ भने जुन डेलिभरी ब्वाईको नम्बर भनिएको थियो, त्यो नम्बरबाट कल आउँदा सम्झनाको फोनले ‘स्क्याम कल’ हुनसक्ने भन्दै अलर्ट गराएको थियो ।

आकर्षक सामान खरिद गर्न र हतारको अवस्था सिर्जना हुँदा सम्झना क्षणभरमै ठगिन पुगिन् । उनी भन्छिन्, “मेरो रकम त सानो हो । तर, यो ठगीको श्रृङ्खला सानो होइन । अरू मान्छे नठगिउन् भन्नका लागि मैले भिडिओ नै बनाएर टिकटकमा राखेकी पनि छु । अनि सबैलाई सुझाव - टिकटकमा देखेकै भरमा पूर्ण रूपमा विश्वास गरेर सामान खरिद नगर्नु होला । मैले यो पसल स्क्याम गर्छ भनेर कत्ति कमेन्ट गरेँ । तर, कमेन्ट नै देखिँदैन । र, फोटोमा लेखेर कमेन्ट गरेको मलाई ब्लक गरेको छ । यसले कमेन्टमा कसैले ठग्यो, स्क्याम गर्यो, झुक्यायो जस्ता शब्द राख्दा कमेन्ट नै नहुने बनाएको रहेछ ।”
पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १८:१२
