काठमाडौँ । विश्व सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म पहिलो पटक अक्सिजन बिना चढेर स्केटिङ गर्दै फर्किएको वृत्तचित्र केही दिन अघि युट्युबमा सार्वजनिक भएको छ । पोल्यान्डका स्काइ माउन्टेनर आन्द्रे बार्गियलले बिना अक्सिजन स्केटिङ गरेर फर्किएको भिडिओ सार्वजनिक भएको हो ।
७ नोभेम्बरमा रेड बुलको युट्युब च्यानलमा सार्वजनिक उक्त भिडिओमा स्केटिङ गर्दै झरेको दृश्य देखाइएको छ । ३१ मिनेट १५ सेकेन्ड लामो उक्त भिडिओमा संवाद भने एकदमै थोरै राखिएका छन् । उक्त भिडिओले युट्युबमा यो सामग्री तयार पार्दासम्म ७७ लाख भ्युज कटाइसकेको छ ।
बार्गियल आफ्ना गाइड दावा शेर्पाको साथमा सगरमाथा शिखरमा थिए । दिउँसो ३:१७ बजेको समयमा सगरमाथाको चुचुरोमा पुगेको दृश्यबाट भिडिओ सुरु हुन्छ । उकालो चढ्दा र चिसोले गर्दा स्याँ स्याँ र स्वास फेर्न गाह्रो भएको बाहेक मानिसहरू बोलेको आवाज भिडिओमा निकै कम छन् ।
शिखरमा पुगेको तीन मिनेटपछि अर्थात् दिउँसो ३:२० मा उनले स्केटिङ गर्दै सगरमाथाको साउथ कोल रुट (दक्षिणी कोल मार्ग) हुँदै झर्ने यात्रा सुरु गरेका छन् ।
सगरमाथा शिखरबाट ८,७९० मिटर उचाइमा रहेको हिलारी स्टेप पार गर्न उनलाई तय गरिएको योजना भन्दा बढी समय लाग्यो । जसका कारण अँध्यारो भएपछि त्यस दिन अझ अघि बढ्न जोखिमपूर्ण र कठिन भयो । भोलिपल्ट बिहान, उनले आफ्ना भाइ बार्तेकले उडाएको ड्रोनको मार्गदर्शनमा खतरनाक खुम्बु हिमपहिरो क्षेत्र हुँदै स्की गर्दै तल झरे र सुरक्षित रूपमा बेस क्याम्प पुगेपछि अतिरिक्त अक्सिजन बिना नै सगरमाथा आरोहणसँगै स्की मार्गबाट अवरोहण पूरा गर्ने पहिलो व्यक्ति बने ।
समुद्री सतहबाट आठ हजारभन्दा माथिको उचाईलाई ‘डेथ जोन’ पनि भनिन्छ । यहाँ कृत्रिम अक्सिजन बिना मानिसहरू १७/१८ घण्टामात्र बाँच्न सक्ने बताइन्छ । उक्त डेथ जोनमा अक्सिजन बिना बार्गियलले १८ घण्टा बिताएको भिडिओमा उल्लेख छ ।
वृत्तचित्रमा हिमालको दृश्य, भिर, स्केटिङ गर्दै गर्दा बार्गियल लडेका दृश्य, ड्रोन शट, स्केटिङका कारणले गर्दा खसेको सानोतिनो हिमपहिरो लगायतका दृश्य निकै सुन्दर देखिएका छन् ।
बार्गियल राति साँढे आठ बजे क्याम्प २ मा आराम गर्न पुगेका छन् । भोलिपल्ट बिहान उनले क्याम्प २ बाट सगरमाथा बेसक्याम्पमा स्केटिङ गरेर झर्न सुरु गरेका छन् ।
उक्त भिडिओमा बार्गियलले सगरमाथा बेसक्याम्पको हिउँको अन्तिम रेखामा पुगेर स्केटिङको यात्रा पुरा गरेका छन् । त्यसपछि बेसक्याम्पमा कुरेर बसेका टिमका सदस्यहरूले सफल आरोहणको बधाई सहित स्वागत गरेसँगै वृत्तचित्र समाप्त भएको छ ।