close

पूर्वाञ्चल विश्वविद्यालयमा आईटी र एआई कार्यक्रम छात्रवृत्तिमा पढ्ने अवसर, कसरी दिने आवेदन ?

टेकपाना टेकपाना

असार ११, २०८३ ११:३७

पूर्वाञ्चल विश्वविद्यालयमा आईटी र एआई कार्यक्रम छात्रवृत्तिमा पढ्ने अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायले शैक्षिक सत्र २०८३/०८४ का लागि विभिन्न स्नातक र स्नातकोत्तर डिप्लोमा (पीजीडी) कार्यक्रमहरूमा छात्रवृत्ति कोटामा विद्यार्थी भर्ना गर्न अनलाइन आवेदन खुला गरेको छ । संकायले सोमबार एक सूचना जारी गर्दै आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालित प्राविधिक विषयहरूका लागि प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

सूचना अनुसार बीसीए-आईटी, बीआईटी, बी.टेक इन एआई, बीएससी लगायतका स्नातक तहका कार्यक्रमहरूमा छात्रवृत्ति उपलब्ध छ । त्यस्तै, पीजीडीसीए-आईटी, पीजीडी-एआई र पीजीडी-सीएस जस्ता पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रमका लागि पनि आवेदन दिन सकिनेछ ।

इच्छुक विद्यार्थीले विश्वविद्यालयको आधिकारिक वेबसाइटहरू pufost.edu.np वा entrance.puexam.edu.np मार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।

आवेदनका लागि आगामी २७ साउनसम्म सामान्य दस्तुर १५ सय रुपैयाँ तोकिएको छ । जसको अन्तिम मिति २७ साउनसम्म रहेको छ । २७ साउनपछि १ भदौसम्म तीन हजार रुपैयाँ दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रवेश परीक्षा आगामी ६ भदौमा हुने तय भएको छ ।

विश्वविद्यालयले कुल भर्ना संख्याको १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नेछ । यसमध्ये ५ प्रतिशत जेहेन्दार र ५ प्रतिशत आरक्षित समूहका लागि छुट्याइएको छ । आरक्षित समूहमा आवेदन दिनेले सो समूह खुलेको आधिकारिक कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।

प्रवेश परीक्षा शुल्क अनलाइनमार्फत नै भुक्तानी गर्नुपर्ने सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८३ ११:३७