close

मोबाइल किन्दा बिचार पुर्‍याउनुहोस्, अन्यथा टेलिकमको फोरजी नचल्न सक्छ

टेकपाना टेकपाना

पुस १७, २०७६ १६:५२

मोबाइल किन्दा बिचार पुर्‍याउनुहोस्, अन्यथा टेलिकमको फोरजी नचल्न सक्छ

तपाईं यदि मोबाइल किन्दै हुनुहुन्छ भने अब कुन–कुन ब्याण्डको फ्रिक्वेन्सीमा चल्छ हेरेरमात्रै किन्नु होस् । अन्यथा तपाईंको मोबाइलमा फोरजी नचल्न सक्छ ।

नेपालमा १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्याण्डको रेडियो तरंग अर्थात फ्रिक्वेन्सीमा फोरजी सेवा विस्तार भइरहेको छ । अन्य कम्पनीले १८०० मेगाहर्जको फ्रक्वेन्सीमा मात्रै फोरजी सेवा दिइरहेका बेला सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने १८०० मेगाहर्ज (ब्यान्ड ३) का अतिरिक्त ८०० मेगाहर्ज (ब्यान्ड २०) गरी दुबै ब्याण्डमा फोरजी नेटवर्क विस्तार गरिरहेको छ ।

ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रमा फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन टेलिकमले यी दुबै ब्याण्डको फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ ।

हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चल्ने खालका छन् । ८०० मेगाहर्जको फोरजी प्रयोग गर्न सकिने मोबाइल सेटको संख्या भने सीमित मात्रामा मात्रै बजारमा उपलब्ध छन् । टेलिकमले मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्ज ब्याण्डमा मात्रै फोरजी सेवा उपलब्ध गराइरहेको छ । यदी तपाईं ग्रामीण क्षेत्रमा टेलिकमको फोरजी सेवा प्रयोग गर्न चाहनुहुन्छ भने त्यसै अनुसारको मोबाइल सेट खरीद गर्नेतर्फ बिचार पुर्‍याउनुहोस् । फोरजीको अधिकतम प्रयोगक लागि दुबै ब्याण्डमा चल्ने मोबाइल सेट छनौट गर्नु बुद्धिमानी हुनेछ ।

टेलिकमले हाल देशभर फोरजी सेवा विस्तार गरिरहेको छ । निकट भविष्यमै उसले भ्वाइस कल समेत इन्टरनेटबाटै गर्न सकिने सेवा समेत सुरु गर्दैछ । त्यसैले कम्पनीले फोरजी १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग आग्रह गरेको छ ।

नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ ।

टेलिकमले आगामि दिनमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यसको उपलब्धतासँगै ग्राहकले फोरजी सेवा थप सहजताका साथ प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । हाल मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइरहेको कम्पनीले २८ लाख प्रयोगकर्ता पुगिसकेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०