close

काठमाडौंको पद्मोदय स्कुलले भन्योः छात्रामाथि दुर्व्यवहार भएको भाइरल फुटेज यहाँको होइन

टेकपाना टेकपाना

असार १०, २०८० ११:२५

काठमाडौंको पद्मोदय स्कुलले भन्योः छात्रामाथि दुर्व्यवहार भएको भाइरल फुटेज यहाँको होइन

काठमाडौं । अहिले टिकटकमा पद्मोदय विद्यालय नाम जोडिएको एउटा भिडिओ भाइरल छ । शिक्षकले किशोरी विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै आइरहेको उक्त भिडिओ आफ्नो स्कुलसँग सम्बन्धित नभएको भन्दै पद्मोदय माध्यामिक विद्यालय काठमाडौंका प्रधानाध्यापकले स्पष्ट पारेका छन् ।

नाम उस्तै परेकाले धेरैले आफूलाई सम्पर्क गरेपछि पद्मोदय माध्यमिक विद्यालय, रामशाह पथ काठमाडौंका प्रधानाध्यापक नारायण गौतमले सो भिडिओ आफ्नो विद्यालयसँग सम्बन्धित नभएको भन्दै फेसबुक पोस्ट गरेका हुन् ।

"टिकटकमा पद्माेदय माध्यमिक विद्यालयकाे नाम जाेडिएर एउटा भ्रामक भिडियो बाहिरिएको छ,” प्रधानाध्यापक गौतमले लेखेका छन्, “याे भिडिओ पद्मोदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौंंसँग असम्बन्धित रहेकाे कुरा हाम्रा पूर्व विद्यार्थी, आम अभिभावक, विद्यार्थी भाइबहिनी सबैमा अनुराेध गर्दछु ।”

आफूलाई चिन्ने धेरैले सामाजिक सञ्जालमा मेसेज र फोन सम्पर्क गरेर भिडिओमा देखाइएको घटनाको बारेमा चासो राखेको उनले बताए । केही भिडिओमा राखेका अस्पष्ट जानकारीले गर्दा बाध्य भएर त्यो भिडिओ आफ्नो विद्यालयको नभएको जानकारी दिनु परेको उनले सुनाए ।

भिडिओ हेर्नेहरूलाई घटनाको वास्तविकता बुझेर मात्र आफ्नो धारणा बनाउन प्रधानाध्यापक गौतमको अनुरोध छ । “टिकटकमा देखिएको भिडिओमा नाम प्रयोग हुँदा त्यसले संस्थाको प्रतिष्ठामा आँच आउँछ,” उनले भने, “त्यसैले वास्तविकता बुझेर बोल्दा वा कुरा बाहिर ल्याउँदा निर्दोषलाई त्यसले अप्ठ्यारो पार्दैन ।”

उक्त भिडिओ पद्मोदय पब्लिक नमूना विद्यालय, दाङको भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । टिकटकमा अहिले पद्मोदय पब्लिक नमूना विद्यालयकी पीडित विद्यार्थीलाई न्याय दिनुपर्ने भन्दै आन्दोलन भएका भिडिओ समेत आइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असार १०, २०८० ११:२५