close

नेपाली एप बाटो म्याप्सले ल्यायो सार्वजनिक यातायातमा यात्रा गर्नेलाई सघाउने फिचर

टेकपाना टेकपाना

असार १४, २०८० ११:५१

नेपाली एप बाटो म्याप्सले ल्यायो सार्वजनिक यातायातमा यात्रा गर्नेलाई सघाउने फिचर

काठमाडौं । नेपाली मोबाइल एप बाटो म्याप्सको नयाँ अपडेट सार्वजनिक भएको छ । पछिल्लो अपडेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात चल्ने रुटसँग थुप्रै नयाँ फिचर थपिएका हुन् । 

नेपाली व्यवसाय तथा अन्य प्रयोगकर्ताका लागि स्थानीय नक्साको सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाली युवाहरूले विकास गरेको एप हो बाटो म्याप्स । आफू रहेको स्थान देखाउने मात्र नभई, बाटो म्याप्समा आफूले चाहेको स्थानसम्म जान दिशानिर्देश (नेभिगेसन) प्राप्त गर्नुका साथै उक्त स्थान वरपर रहेका विभिन्न ल्याण्डमार्कको सहयोग लिन समेत सकिन्छ ।

यो एपमा अफलाइन फिचर पनि रहेका कारण नेपाली प्रयोगकर्ताका लागि यो एप निकै उपयोगी हुने आशा गरिएको छ ।  

बाटोको पछिल्लो अपडेटसँगै अब प्रयोगकर्ताले सार्वजनिक यातायातका रुटहरू पनि हेर्न सक्ने भएका छन् । उदाहरणका लागि तपाईं थापा गाउँबाट सार्वजनिक यातायातमा कीर्तिपुर जान चाहनु हुन्छ भने यो एपको सहयोग लिन सक्नु हुन्छ । 

बाटो म्यापमा गन्तव्यको रूपमा कीर्तिपुर छानेर माथि उपलब्ध विभिन्न विकल्प मध्ये बसको संकेत चयन गरी  ‘डिरेक्सन’ खोज्नु भयो भने नतिजामा विभिन्न रुटहरू देखा पर्छन् । त्यसमा समयको आधारमा विभिन्न विकल्प आउँछन् ।

मानौं पहिलो विकल्प रोज्दा तपाईं रहेको स्थानबाट थापागाउँ टेम्पो चढ्ने स्थानसम्म हिंडेर जाँदा लाग्ने समय, टेम्पोमा सहिद गेट जाने, सहिद गेटबाट नयाँ बजार कीर्तिपुरको बस चढेर गन्तव्यमा पुग्न सकिने र त्यसका लागि कूल ४५ मिनेट समय लाग्ने जानकारी देखिन्छ ।  

 तर यो फिचर अहिलेको लागि काठमाडौं उपत्यकाका लागि मात्र उपलब्ध हुने बताइएको छ । सार्वजनिक यातायातका रुटको बारेमा पर्याप्त मात्रामा डिजिटाइज्ड डेटा सजिलै उपलब्ध नभएका कारण अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डले यो फिचर आफ्नो एपमा उपलब्ध गराउन सकेका छैनन् ।

यद्यपि, बाटो म्याप्सको टिमले विभिन्न स्रोतहरूमार्फत सार्वजनिक यातायातका रुटहरूको डेटा संकलन गरी  यो फिचर थप्न सफल भएको हो । 

सार्वजनिक यातायातका रुटहरूको जानकारी आम मानिसहरूका लागि निकै उपयोगी हुने गर्छ । विशेष गरी कुनै नयाँ ठाउँमा जाँदा त्यहाँको सार्वजनिक यातायातका साधनहरू कुन रुट भएर चल्छन् भन्ने कुरा जानकारी नहुँदा प्रयोगकर्ता निकै अप्ठेरो स्थितिमा पर्ने गर्छन् ।

यस किसिमको असहजताको समस्या समाधान गर्नकै लागि बाटो म्याप्सले यो नयाँ फिचर ल्याएको हो । यो फिचर स्थानीय नेपालीका लागि मात्र नभएर सार्वजनिक यातायात प्रयोग गर्न रुचाउने पर्यटकहरूका लागि पनि निकै उपयोगी हुने ठानिएको छ ।

काठमाडौं सहरका जीवन्त पक्षको बारेमा खोजी गर्न चाहने पर्यटकले बाटो म्याप्सको यो फिचर प्रयोग गरी सहजता प्राप्त गर्न सक्छन् । बाटो म्याप्समा पार्किङ स्थल तथा रेस्टुरेन्ट खोज्न सकिने लगायतका फिचर उपलब्ध छन् ।

यद्यपि बाटो म्याप्सको यो नयाँ फिचर हालको लागि प्रयोगात्मक मात्र भएकाले कुनैकुनै अवस्थामा गलत सूचना दिन सक्ने सम्भावना हुन सक्ने कम्पनीले स्पष्ट पारेको छ । एपले गलत सूचना प्रदान गरेको अवस्थामा एपमै रिपोर्ट गरिदिन बाटो म्याप्सले अनुरोध समेत गरेको छ । 

यहाँ क्लिक गरी गुगल प्ले स्टोरबाट बाटो म्याप्सको एप डाउनलोड गर्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असार १४, २०८० ११:५१