close

अझै रोकिएन अवैध कल बाइपास, कञ्चनपुरबाट पक्राउ परे भारतीयसँगै २ नेपाली

टेकपाना टेकपाना

साउन ११, २०८० १६:३

अझै रोकिएन अवैध कल बाइपास, कञ्चनपुरबाट पक्राउ परे भारतीयसँगै २ नेपाली

काठमाडौं । अवैध कल बाइपास गरेको भन्दै नेपाल प्रहरीले भारतीयसँगै दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधवार त्यस्तो कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका (१८ क्याम्पस रोड ५ नम्बर गल्लीमा केही व्यक्तिहरूबाट गैरकानूनी रूपमा शङ्कास्पद गतिविधि भइरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही आधारमा ब्युरोबाट खटिएको टोली, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको संयुक्त टोली परिचालन भएको थियो ।

त्यस क्रममा जंगबहादुर मल्ल र दिनेश मल्लको पाँच तले घरमा जनमराज जोशीले भाडामा लिएको पाचौँ तल्लाको फ्ल्याटको एउटा कोठाबाट विगत चार महिनादेखि अवैध कल बाइपास हुने गरेको थाहा हुन आएको छ । भारतीयसँग मिलेर केही नेपाली नागरिकले नेपाल टेलिकमको एसआईपी बक्स कनेक्सन गरी कल बाइपास गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, महेन्द्रनगरमा बुझाइएको ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका(७ कञ्चनपुरका ४० वर्षीय प्रविण खड्का र भीमदत्त नगरपालिका(१० जिमुवाका ४७ वर्षीय दीपकसिंह बोहरा रहेका छन् ।

उनीहरूको साथबाट नेपाल टेलिकमको ल्यान्ड लाइनको ६० लाइन क्षमता भएको सिप पीबीएक्स कनेक्सन लाइन, गेटवे सर्भर सीपीयू, एनटीसी एफटीटीएच वाईफाई राउटर, वर्ल्डलिङ्क वाईफाई राउटर, मनिटर, ल्यापटप, लाइन केबल, मोबाइल लगायतका कल बाइपासमा प्रयोग हुने सामग्री समेत बरामद गरिएको सीआईबीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ११, २०८० १६:३