close

नेपाली सडकमा देखियो टेस्ला जस्तै देखिने बिजुली गाडी नेटा जीटी

टेकपाना टेकपाना

भदौ २४, २०८० १७:३४

नेपाली सडकमा देखियो टेस्ला जस्तै देखिने बिजुली गाडी नेटा जीटी

काठमाडौं । टेस्ला जस्तै आकर्षक डिजाइन भएको नेटा जीटी नेपाल भित्रिएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यो बिजुली गाडी नेपाल ल्याएको हो ।

शनिवार निरज शेर्पा नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले नेटा जीटी रसुवा नाका कटेर नेपाल आउँदै गरेको भिडिओ पोस्ट गरेका छन् । ड्राइभर सिट बायाँ साइडमा रहेको देखिने उक्त गाडी आसन्न नाडा अटो शोलाई लक्षित गरी नेपाल ल्याइएको चौधरी ग्रुपले जनाएको छ ।

यो गाडी प्रदर्शनीमा देखाउनका लागि मात्रै नेपाल भित्र्याइएको बताइएको छ । दुई ओटा ढोका र चार ओटा सिट भएको नेटा जीटीको डिजाइन वाइड-बडी रहेको छ ।

स्मार्ट र लक्जरियस इन्टेरियर भएको यो गाडीको ककपिट इन्टेलिजेन्ट किसिमको छ । पानारोमिक सनरुफ, १७.६ इन्चको सेन्टर कन्ट्रोल स्क्रिन, फोरडी म्युजिक ककपिट, ५.१.४ स्काई साउन्ड इफेक्टका लागि १२ ओटा लाउड स्पिकर राखिएको यो गाडीले ३.७ सेकेन्डमै शून्यबाट १०० किलोमिटर प्रति घण्टाको स्पिड पकड्न सक्छ ।

एक पटकको फुल चार्जमा ५८० किलोमिटरसम्म गुड्न सक्ने यो कार चीनको होजोन अटोले बनाएको हो । सन् २०२२ मा मात्रै कम्पनीले विश्वभर एक लाख ५२ हजार ७३ ओटा विद्युतीय गाडी बजारमा पठाएको थियो ।

नेटाको जीटी मोडेल स्पोर्ट्स कारको रूपमा बजारमा आएको हो । गत अप्रिलमा मात्रै चिनियाँ बजारमा सार्वजनिक भएको यो गाडी रियर ह्विल ड्राइभ र फोर डब्लूडी भर्सनमा उपलब्ध छ ।

पहिलोका लागि १७० किलोवाट (२३१ एचपी) पावर आउटपुट रहेको छ भने फोरडब्लूडी भर्सनका लागि पावर आउटपुट ३४० किलोवाट (४६२ एचपी) सम्म पुग्ने गर्छ । चिनियाँ बजारमा २६ हजार अमेरिकी डलरमाथि मूल्य रहेको यो कार नेपाली बजारमा बिक्रीका लागि कहिलेसम्म आउँछ भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

स्पोर्टी कार भएकाले नेपालमा नेटा जीटीले कतिसम्म बजार लिन सक्छ वा बजारमा कत्तिको माग हुन सक्छ भन्ने कुरा पर्ख र हेरकै स्थितिमा छ । त्यसैले अहिले नै कम्पनीले यो गाडी व्यापारिक रूपमा नेपाल भित्र्याउने विषयमा कुनै निर्णय लिइसकेको छैन ।

चौधरी ग्रुपले नेटा ब्रान्डको नेटा भी एक वर्षदेखि नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० १८:३३