close

आउँदो शुक्रबार र शनिबार पोखरामा वर्डक्याम्प हुँदै, यस्ता छन् मुख्य कार्यक्रम

टेकपाना टेकपाना

पुस २५, २०८० १३:५२

फाइल तस्वीर फाइल तस्वीर

पोखरा । वर्डक्याम्प नेपालको छैठौँ संस्करण ‘वर्डक्याम्प नेपाल २०२४’ आगामी जनवरी १२ र १३ तारिख (पुस २७-२८) मा पोखरामा हुँदैछ ।वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा आयोजना गर्दै आइरहेको वर्डक्याम्पकाे नयाँ संस्करण पाेखरा विरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुनेछ ।

वर्डप्रेस सफ्टवेयरसँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेलेकाे वर्डप्रेस नेपालले जनाएकाे छ ।

वर्डप्रेस एक नि:शुल्क तथा ओपन सोर्स सफ्टवेयर हो, जसको प्रयोगले आज विश्वभर झन्डै ४० प्रतिशत वेबसाइटको उत्पादन र  सञ्चालनमा प्रत्यक्ष सहयोग पुगेको छ ।

विश्वमा पहिलो वर्डक्याम्प सन् २००६ मा वर्डप्रेसका सहसंस्थापक म्याट मुलेनवेगको अगुवाइमा अमेरिकाको सान-फ्रान्सिस्कोमा भएको थियो, र त्यसयता विश्वभरका वर्डप्रेस सम्बद्ध स्थानीय समुदायहरूको सहकार्यमा सयौं अरू वर्डक्याम्पहरु सम्पन्न भएका छन् ।

आजका दिनसम्म ६५ देशका ३९१ सहरहरूले करिब १२ सय वर्डक्याम्पहरू सम्पन्न गरिसकेका छन् । नेपालमा हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवलजस्ता सहरमा १५ वटा सहर आधारित तथा देशव्यापी वर्डक्याम्पहरु सफलतापूर्वक सम्पन्न भइसकेकाे वर्डप्रेस नेपालले जानकारी दिएकाे छ । 

कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपेली मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रबाट झन्डै १००० जनाभन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने बताइएको छ ।

सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ ।

दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ, जसमा बिहानदेखि बेलुकासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेसका साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयमा रहेर जानकारी तथा प्रशिक्षण दिनेछन् ।

यसअन्तर्गत ​प्रेरणादायी वक्ताहरूकाे प्रस्तुति, अन्तर्क्रियात्मक कार्यशालाहरू, ​नेटवर्किङ अवसरहरू लगायत रहने वर्डप्रेस नेपालले जनाएकाे छ । 

पछिल्लो अध्यावधिक: पुस २५, २०८० १४:८