close

फेसबुकमा जथाभावी ‘लाइक’ गर्ने बानी छ ? सावधान !

टेकपाना टेकपाना

जेठ २१, २०८१ १६:१७

फेसबुकमा जथाभावी ‘लाइक’ गर्ने बानी छ ? सावधान !

काठमाडौं । फेसबुकका आकर्षक फिचर मध्येको एक हो, लाइक । कुनै पोस्ट मन पराएको जनाउ दिन फेसबुकमा लाइक बटन थिच्ने गरिन्छ । लाइक एउटा प्रतिक्रिया पनि हो । अहिले फेसबुकमा लाइकसहित लभ, केयर, हाहा, वाउ, स्याड, एङ्ग्री गरी सात फरक फरक प्रतिक्रिया दिन सकिन्छ ।

पोस्टसँगै पेज लाइक गर्ने पाटो पनि छ । खासमा पेजको सन्दर्भमा पनि त्यही हुन्छ । तपाईंले कुनै पनि पेज लाइक वा फलो गरेमा त्यसमा पोस्ट भएका कुराहरू तपाईंको फिडमा आउने गर्छन् ।  

यही लाइकलाई लिएर कतिपयले धन्दा पनि चलाइरहेका हुन्छन् । जस्तो: सायद तपाईंले ‘यति लाइक पुगे यसो गर्छु उसो गर्छु’ भन्ने खालका फेसबुक पोस्ट देख्नु भएको होला । तर यस खालको फन्डा निकै सामान्य हो ।

यी बाहेक अनेकन् फन्डा पनि फेसबुकमा चलिरहेको हुन्छ । यदि तपाईंले त्यस प्रकारका पोस्टमा लाइक गर्नुभयो भने उही प्रकारका पोस्ट निरन्तर आउन थाल्छन् । तपाईँलाई ती लाइक गरौं गरौं लाग्न सक्छ । यसलाई 'लाइक फार्मिङ' विधि भनिन्छ । जसलाई मनग्गे पैसा कमाउन स्क्यामरहरूले प्रयोग गर्ने गर्छन् ।

यसका साथै लाइक गरेको उक्त पोस्ट/पेज तपाईंका साथीको अकाउन्टमा पनि देखिन सक्छ ।

'लाइक फार्मिङ'

सामान्य अर्थमा बुझ्दा लाइक बटुल्ने विधि हो, लाइक फार्मिङ । नामको अर्थ अनुसार जाँदा यो लाइकको खेती हो । त्यसो भए स्क्यामले कसरी लाइकको खेती गर्छन् त ? सबैभन्दा पहिले स्क्यामरले एउटा पेज बनाउँछ । जसमा उसले निरन्तर रूपमा फोटो तथा प्रेरणादायी कुराहरू शेयर गर्ने गर्छ ।

यदि तपाईंले उक्तमा पेजमा कमेन्ट गरेर अथवा बारम्बार हेरी अन्तर्क्रिया गरिरहनु हुन्छ भने तपाईंको फिडमा ती पाेस्ट आइरहन्छन् । अनि जसै लाइक बढेर केही अलि बढी हुन्छ, त्यसपछि उक्त पेजमार्फत स्क्यामरले विज्ञापन चलाउन सुरु गर्छ ।

त्यसपछि स्क्यामरले कुनै वस्तु तथा सेवा बेच्ने भन्दै सामग्री राख्न थाल्छ । ‍जसलाई वास्तविक ग्राहकले खरिद गर्न खोज्दा ती ठगिन सक्छन् । अथवा कुनै मालवेयर भाइरस भएको लिङ्क राखेर विज्ञापन गरिन सक्छ । जसमा क्लिक गर्दा कुनै पनि प्रयोगकर्ता नराम्ररी ठगिन सक्छन् ।

कालोबजारी

लाइक बढाएर स्क्याम लिङ्क फैलाउने मात्र नभएर कालोबजारमा बढी लाइक भएका पेजहरू पनि बिक्रीमा राखिएका हुन्छन् । पेजको बिक्री वितरण गर्नु फेसबुकको नीति विपरीत मानिन्छ । गैरकानुनी तरिकाले कालोबजारमा हजारौं पेज बिक्रीमा राखिएका हुन्छन् । पेजमा जति धेरै लाइक हुन्छ, त्यसको मूल्य त्यति नै महँगो हुन्छ । 

यसका साथै त्यस्ता पेजमा विभिन्न नक्कली फोटो तथा भिडिओहरू समेत राखिने गर्छन् । जुन कहिल्यै वास्तविक हुँदैनन् । कुनै अपरिचित पेजलाई तपाईंले लाइक गर्नु भएको छ । कालान्तरमा त्यो पेज सञ्चालकले तपाईंको कुनै एक फोटो गैरकानुनी कामका लागि प्रयोग नगर्लान् भन्न सकिन्न । 

सायद तपाईंले याद गर्नु भएको हुन सक्छ, तपाईंले लाइक गरेका कतिपय पेज अहिले सक्रिय छैनन् । ती मध्येको धेरै नाम परिवर्तन भएको छ । अहिले एड्मिनले कुनै पनि पेजको नाम परिवर्तन गर्दा त्यसलाई लाइक गरेका वा फलो गरेका सबैले त्यसबारे जानकारी पाउन सक्छन् ।

सुरक्षित रहन के गर्ने ? 

मुख्य कुरा जथाभावी लाइक गर्ने बानीलाई तपाईंले सबैभन्दा सुरुमा सुधार गर्नुपर्छ । यो बानीले सम्भावित धेरै जोखिमबाट बचाउँछ । फिडमा आउने कुनै पनि पेजमा तपाईंले बिनाकारण लाइक गर्नुहुन्न । कुनै पनि पेज लाइक गर्नुको अर्थ त्यहाँ आउने पोस्टबारे भविष्यमा तपाईंले अपडेट पाउनु पनि हो । यदि पहिल्यै त्यस्ता पेजमा लाइक, फलाे गर्नु भएको छ भने तपाईंले डिसलाइक, अनफलाे गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ १६:१७