close

अमेरिकन आइडल उपविजेता अर्थर गनको फेसबुक ह्याक, अश्लील फोटोमार्फत वनएक्सबेट नेपालको प्रचार

टेकपाना टेकपाना

जेठ २५, २०८१ १३:१४

अमेरिकन आइडल उपविजेता अर्थर गनको फेसबुक ह्याक, अश्लील फोटोमार्फत वनएक्सबेट नेपालको प्रचार

काठमाडौं । १८ औं संस्करणकाे अमेरिकन आइडलका उपविजेता दिवेश पोखरेल उर्फ अर्थर गनको फेसबुक पेज ह्याक भएको छ । नेपाली मुलका चर्चित गायक पोखरेलको दुई लाख बढी लाइक भएको फेसबुक पेज हालै ह्याक भएको हो । 

ह्याक भएको उक्त पेजको स्टोरीमा अश्लील फोटो र लिङ्क राखिएको छ । प्रयोगकर्ताले उक्त लिङ्क क्लिक गर्ने हो भने लिङ्क रिडाइरेक्ट भएर वनएक्सबेट नेपालको साइटमा जान्छ ।

हुन त उक्त लिङ्क वनएक्स बेटलाई नै लक्षित गरेर राखिएको भने होइन । यस्ता लिङ्कलाई ‘एड्स रिडाइरेक्ट’ भन्ने गरिन्छ । सामान्यतः विज्ञापनदाताले यो क्षेत्रमा आफ्नो विज्ञापन बजाउने भनेर तेस्रो पक्ष एड प्लेटफर्मलाई रकम दिएका हुन्छन् । उक्त प्लेटफर्मले एफिलियट मार्केटिङ गर्नेलाई लिङ्क उपलब्ध गराएको हुन्छ । 

यसमा वनएक्स बेटले नेपाललाई लक्षित गरी विज्ञापन दिएकाले ‘एड रिडाइरेक्ट’ मार्फत उक्त प्लेटफर्मको विज्ञापन आएको जानकारले बताएका छन् । 

त्यसबाहेक उक्त पेजको पोस्टमा असान्दर्भिक कन्टेन्ट राखिएको देख्न सकिन्छ । अन्तिम पटक पोखरेलले २८ मेमा आफ्नो फोटो पोस्ट गरेका थिए । त्यसपछि १ जुनदेखि उक्त पेजमा असान्दर्भिक कन्टेन्ट पोस्ट भएको देख्न सकिन्छ ।

असान्दर्भिक कन्टेन्टमा ह्याकरले अङ्ग्रेजी वाक्यलाई गुगल ट्रान्सलेट मार्फत नेपाली बनाएर सोझै राखेको देख्न सकिन्छ । “ह्याकरले कसरी थाहा पायो उनी नेपाली हुन् भन्ने,” असान्दर्भिक कन्टेन्टमा नेपाली क्याप्सन राखेको देखेर अतिफ भण्डारीले प्रश्न गरेका छन् ।

 

पेज ह्याक भए पनि पोखरेलले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छन् वा छैनन् भन्ने स्पष्ट छैन । यो फेसबुक पेज भेरिफाइड छैन । जबकि फेसबुक पेज बाहेक उनका अन्य प्रायः सबै सामाजिक सञ्जालका अकाउन्ट भेरिफाइड छन् । 

त्यसैले यो पेज नक्कली हो कि भन्ने लाग्न सक्छ । तर, पोखरेलको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा लिङ्कट्रीको लिङ्क राखिएको छ । सामान्यतः धेरै लिङ्कहरू एउटै प्लेटफर्मबाट देखाउनु पर्‍यो भने लिङ्कट्री प्रयोग गर्ने गरिन्छ ।

पोखरेलको उक्त लिङ्कट्री अकाउन्टमा भने (@arthurgunn122) युजरनेम भएकै फेसबुक पेज लिङ्क छ । 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८१ १३:३७