काठमाडौं । सर्जकको अनुमति बेगर कुनै पनि लेख, फोटो, गीत, सङ्गीत, चलचित्र जस्ता सिर्जना कपी गरे दुई वर्षसम्म कैद हुन सक्ने भएको छ । आफ्नो सामाजिक सञ्जालमा एक जनचेतनामूलक भिडिओ सन्देश राख्दै नेपाल प्रहरीले सिर्जना चोरी गर्दा हुने सजायबारे सचेत गराएको हो ।
“कुनै पनि लेख, फोटो, गीत, सङ्गीत, चलचित्रहरू बौद्धिक सम्पत्ति हुन् । त्यस्ता बौद्धिक सम्पत्तिलाई सर्जकको अनुमति बेगर चोरी गर्ने, टिकटक बनाउने, रिलमा प्रसारण गर्ने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नगर्न नगराउन सबैमा अनुरोध छ,” प्रहरीको भिडिओमा भनिएको छ ।
यदि कसैले त्यसो गरे प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम कारबाही गरिने भन्दै भिडिओ मार्फत सचेत गराइएको हो । जसअनुसार पहिलो पटकको हकमा दश हजारदेखि एक लाख रुपैयाँ जरिबाना तथा ६ महिनासम्म कैद सजाय हुने छ ।
त्यसै गरी पटकेको हकमा २० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना तथा दुई वर्षसम्म कैद सजाय अथवा दुवै सजाय हुने छ । यसका साथै हुन गएको क्षतिको क्षतिपूर्ति समेत भराइने छ ।