close

गोल गरेपछिको सेलिब्रेसनमा साम्बाले फ्लेक्स प्वाल पारी दिँदा खल्ती उल्टै फाइदामा

टेकपाना टेकपाना

कात्तिक १२, २०८१ १५:३८

गोल गरेपछिको सेलिब्रेसनमा साम्बाले फ्लेक्स प्वाल पारी दिँदा खल्ती उल्टै फाइदामा

काठमाडौं । साफ वुमन्स च्याम्पियनशिप अन्तर्गत सोमबार भएको भारतविरुद्धको खेल अनेक कारणले सम्झन योग्य रह्यो । ती मध्ये एक हो, नेपाली स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’को सेलिब्रेसन ।

विवादका कारण रोकिएको खेल सुरु भएको केही मिनेटमा नै साम्बाले गोल फर्काइन् । त्यसपछि मैदानबाहिरसम्म पुगेर उनले गोल सेलिब्रेसन गरिन् । त्यस क्रममा संयोगवश प्रतियोगिताको टिकेटिङ पार्टनर रहेको खल्तीको फ्लेक्स बोर्डमा उनले खुट्टा हाल्न पुगिन् ।

त्यसले विज्ञापन राखिएको बोर्डमा प्वाल पर्‍यो । अझ त्यसैतिर फर्किएर उनले आफ्नो जर्सी पनि देखाइन् । ती पल क्यामेरामा राम्रैसँग कैद भए । जसलाई डिजिटल वालेट कम्पनी खल्तीले विज्ञापनको गतिलो अवसरको रुपमा उपयोग गरिरहेको छ ।

लगत्तै खल्तीले आफ्नो विज्ञापन बोर्डतिर साम्बा फर्किएर जर्सी देखाइरहेको फोटो सामाजिक सञ्जालमा शेयर गर्‍यो । र क्याप्सनमा लेख्यो, “साम्बा 🔥🇳🇵 केही क्षण अघिको ब्रेकिङ न्युज, गौरवका साथ नेपाल फाइनल प्रवेश गर्‍यो । पुनश्चः त्यो किकले हामीलाई कुनै फरक परेन ।”

त्यसपछि साम्बाको गोलसँगै सामाजिक सञ्जालमा खल्तीको प्वाल परेको बोर्डको पनि चर्चा हुन थाल्यो । जसबाट मैदानमा फ्लेक्स राखेको भन्दा कयौं गुणाले खल्तीको विज्ञापन भइरहेको छ । यो समाचार तयार पार्दासम्म खल्तीको उक्त पोस्ट (फेसबुक)मा मात्रै १२ हजार बढी लाइक, एक हजार कमेन्ट र ३९२ पटक शेयर भइसकेको थियो । 

अझ अन्य विभिन्न पेज तथा व्यक्तिगत अकाउन्टले समेत खल्तीको प्वाल परेको फ्लेक्स र साम्बाको सेलिब्रेसनलाई जोडेर गरेका पोस्टमा समेत हजारौं लाइक आइरहेका छन् ।  

यसले गर्दा खल्ती (Khalti Official) अहिले सामाजिक सञ्जाल फेसबुकको ट्रेन्डिङ (Popular now) मा पर्न गएको छ । विभिन्न मिम पेज तथा व्यक्तिगत अकाउन्टबाट प्वाल परेको बोर्डलाई अवसरको रूपमा प्रयोग गर्ने खल्तीको यस चलाखीको घुमाउरो तरिकाले प्रशंसा पनि भइरहेको छ ।

सञ्जालमा कतिपयले साम्बाको उक्त सेलिब्रेसनको नकारात्मक टीकाटिप्पणी गरी रहँदा उनको त्यही पोस्टले खल्तीको भने सोसल मिडिया मार्केटिङ राम्रै भइरहेको छ । 

यही कारण उक्त पलको फाइदा उठाउन खल्तीले अहिले साम्बाको उक्त सेलिब्रेसनको फोटो (स्टोरी) शेयर गरिरहेको छ, रिल्स तथा टिकटक बनाइरहेको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८१ १५:३८