काठमाडौं । सिनेमाघरमा प्रदर्शन भइरहेको सुपरहिट नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी यतिबेला त्यसको कथाका कारण विवादित छ । उपन्यासकार डा. शिवशंकर बस्यालले उक्त चलचित्रको कथा आफ्नो उपन्यास सङ्ग्रामपुरसँग मिलेको दाबी गरेका छन् ।
त्यस लगतै सामाजिक सञ्जालका विभिन्न माध्यममा चलचित्र र पुस्तकको पक्ष विपक्षमा बहस भइरहेको छ । चलचित्रको कथावस्तु उपन्याससँग मिलेको चर्चासँगै धेरै पाठकले उक्त पुस्तक पढ्ने इच्छा देखाइरहेका छन् ।
तर, यो पुस्तक बजारमा पाउन भने सकस छ । प्रकाशकसँग पनि बाँकी नभएको विवरण बाहिर आएको छ । यसै सन्दर्भमा उपन्यास तथा कथा वाचक अच्युत घिमिरेले यस पुस्तकको अडियो भर्सन ल्याउने जानकारी दिएका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै घिमिरेले सोमबार दिउँसो पुस्तकको अडियो भर्सन युट्युबमा राखिने बताएका हुन् । “धेरै पाठकले देश विदेशबाटै खोजीरहेको पाएँ । धेरै पाठकले ‘त्यो पुस्तक वाचन गरि दिए आफूले देशको कुनैपनि कुना वा विदेशबाट तत्काल सुन्न पाउने’ भनेर अनुरोध गर्नु भएकोले मैले अहिले साँझपख लेखक बस्यालसँग सम्पर्क गरें,” घिमिरेले लेखेका छन् ।
त्यस लगत्तै उनले लेखक डा. बस्यालसँग यस उपन्यासमाथि अडियोबुक बनाउने अनुमति मागे । र, बस्यालले अडियोबुक बनाउने घिमिरेको प्रस्ताव स्वीकार गरेका छन् । घिमिरेले अगाडि लेखेका छन्, “सम्भव भएसम्म भोलि दिउँसो १ बजेसम्म ल्याउने गरी कोसिस गर्दैछु ।”
उनले आइतबार बेलुकादेखि नै अडियो रेकर्ड गर्न सुरु गरेको जनाएका छन् । अडियोबुक घिमिरेको युट्युब च्यानल बुलबुल कम्युनिकेसनमा आउनेछ । त्यसका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।