close

गेमिङ ह्यान्डहेल्डमा परिणत हुने नयाँ स्मार्टफोन एस ६ अल्ट्रा ल्याउँदै वनप्लस

टेकपाना टेकपाना

बैशाख ८, २०८३ १७:४२

गेमिङ ह्यान्डहेल्डमा परिणत हुने नयाँ स्मार्टफोन एस ६ अल्ट्रा ल्याउँदै वनप्लस

काठमाडौँ । वनप्लसले आफ्नो आगामी स्मार्टफोन एस ६ अल्ट्रा (Ace 6 Ultra) केवल एक स्मार्टफोन मात्र नभई गेमिङ ह्यान्डहेल्डका रूपमा पनि प्रयोग गर्न सकिने आधिकारिक पुष्टि गरेको छ । कम्पनीले यस फोनलाई 'स्न्याप-अन कन्ट्रोलर' (snap-on controller) मार्फत एन्ड्रोइड गेमिङ ह्यान्डहेल्डमा रूपान्तरण गर्न सकिने बनाएको छ ।

२८ अप्रिलमा हुने यसको आधिकारिक सार्वजनिक कार्यक्रम अघि वनप्लसले आफ्नो विबो (Weibo) एकाउन्टमार्फत यस उपकरणले कसरी काम गर्छ भन्ने विवरण र तस्बिरहरू सार्वजनिक गरेको हो । यो फोन सिधै नयाँ कन्ट्रोलरमा जडान हुन्छ । जसले गर्दा प्रयोगकर्ताहरू केवल टचस्क्रिनमा मात्र निर्भर रहनु पर्दैन र यसले परम्परागत ह्यान्डहेल्ड कन्सोलको जस्तो अनुभव प्रदान गर्दछ ।

यस कन्ट्रोलरमा एर्गोनोमिक ग्रिप (ergonomic grip) र कस्टमाइज गर्न मिल्ने बटन म्यापिङका साथै चारवटा फिजिकल बटनहरू रहेका छन् । यसले गेमरहरूलाई दुईवटा औँलाको सट्टा धेरै औँलाहरू प्रयोग गरेर जटिल गेमहरू खेल्न सजिलो बनाउँछ ।

प्रर्फर्मेन्स र स्पिडका लागि कन्ट्रोलरमा माइक्रो-मेकानिकल स्विचहरू प्रयोग गरिएका छन्, जसले १००० हर्ज पोलिङ रेट र मात्र १.८ मिलिसेकेन्ड (1.8ms) को अत्यन्तै छिटो रेस्पोन्स टाइम प्रदान गर्दछ । लामो समयसम्म गेम खेल्दा फोन तात्ने समस्या कम गर्नका लागि यसमा एउटा छुट्टै म्याग्नेटिक कुलिङ फ्यान पनि छ । साथै बलियो सिग्नल प्राप्तिका लागि यसमा भित्रै निर्मित गेमिङ एन्टेना र खेल्दाखेल्दै चार्ज गर्न सहज होस् भनेर तल्लो भागमा योएसबी-सी पोर्ट पोर्ट राखिएको छ ।

स्मार्टफोनको हार्डवेयर पक्ष पनि निकै शक्तिशाली छ । एस ६ अल्ट्रामा ६.७८ इन्चको १.५ के (1.5K) फ्ल्याट डिस्प्ले छ । जसले १६५ हर्जको रिफ्रेश रेटलाई सपोर्ट गर्दछ । यसमा मिडियाटेक डाइमेन्सिटी ९५०० चिपसेट समावेश गरिएको छ । पावरका लागि यसमा ८६०० एमएएचको डुअल-सेल ब्याट्री र १०० वाटको फास्ट चार्जिङ सुविधा रहेको छ ।

यसअघि बाहिरिएका केही लिकहरूले वनप्लसले छुट्टै गेमिङ डिभाइस ल्याउन लागेको सङ्केत गरेका थिए । यद्यपि अहिले देखिएको यो फोन र कन्ट्रोलरको संयोजन हो । पहिले बाहिरिएका स्केचहरू र अहिलेको डिभाइस फरक देखिएकाले वनप्लसले भविष्यमा छुट्टै गेमिङ ह्यान्डहेल्ड ल्याउन सक्ने सम्भावना अझै बाँकी रहेको अनुमान गरिएको छ । यद्यपि यसको कुनै ठोस प्रमाण भने फेला परेको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ १७:४४