इजरायलमा २३ सय नेपाली कामदारका लागि रोजगारी खुल्यो, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
जेठ १३, २०८३ १२:१७
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरू (Long Term Care Facilities) मा सहायक कामदार (Auxiliary Workers) का लागि ठुलो संख्यामा आवेदन खुला गरेको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौताअनुसार कुल २३ सय जना नेपाली कामदारको माग गरिएको हो ।
जसमध्ये ४० प्रतिशत (९२० जना) पुरुष र ६० प्रतिशत (१ हजार ३८० जना) महिलाका लागि कोटा निर्धारण गरिएको छ । छनोट हुने कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली शेकेल अर्थात् ३ लाख ४७ हजार रुपैयाँ बढी पारिश्रमिक पाउनेछन् । हप्तामा ६ दिन (कुल ४२ घण्टा) काम गर्नुपर्ने र नियमअनुसार ओभर टाइम तथा वार्षिक बिदाको सुविधा उपलब्ध हुने सूचनामा उल्लेख छ ।
सुरुमा १ वर्षको करार अवधि रहने र अधिकतम ५ वर्षसम्म थप गर्न सकिने व्यवस्था छ । खानाको खर्च कामदार आफैँले व्यहोर्नु पर्नेछ । आवासको प्रबन्ध रोजगारदाताले मिलाउने भए तापनि सोको खर्च कामदार स्वयंले ब्यहोर्नु पर्ने सूचनामा उल्लेख छ ।
यसमा २५ देखि ४५ वर्षसम्म उमेर भएका नेपाल नागरिकहरुले आवेदन दिन सक्नेछन् । उम्मेदवारको शैक्षिक योग्यता कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी १५ महिने अध्ययन पूरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिने तालिम लिएको हुनेपर्ने सूचनामा उल्लेख छ । त्यसैगरी, उम्मेदवारको उचाइ न्यूनतम १.५ मिटर र ४५ केजी तौल अनिवार्य तोकिएको छ ।
कसरी दिने ओदन ?
विभागले जारी गरेको सूचनाअनुसार आवेदन दिन चाहने उम्मेदवारहरूले विभागको वेबसाइट ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । वेबसाइटमा फाराम भर्ने विस्तृत निर्देशिका समेत उपलब्ध रहेको विभागले जनाएको छ । अनलाइन आवेदन १७ जेठ राति १२ बजेदेखि ७ असार राति १२ बजेसम्म खुला रहनेछ ।
अनलाइन फाराम भर्दा पासपोर्ट र वैध प्रहरी चारित्रिक प्रमाणपत्र पनि अपलोड गर्नुपर्नेछ । साथै, उचाइ र तौल सम्बन्धी स्वघोषणा फाराम तथा गोपनीयता सम्बन्धी मन्जुरीनामा फारम विभागको वेबसाइटबाटै डाउनलोड गरेर दस्तखत गरी अपलोड गर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १२:२६
