हेलमेट नलगाई स्कुटर चलाउने चर्चित स्ट्रिमर ‘सीआर सेभेन होरा’ ट्राफिक कारबाहीमा
असार २५, २०८३ २२:५१
काठमाडौं । गेम स्ट्रिमर ‘सीआर सेभेन होरा’ (CR7 Horaa) बाट चर्चित सञ्जन गौतम ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । हेलमेट नलगाई स्कुटर चलाएको भिडिओ सार्वजनिक भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो ।
ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएर नियमअनुसार जरिवाना गराएको छ । कारबाहीपछि ट्राफिक प्रहरीले राखेको भिडिओमा बोल्दै गौतमले आफ्नो गल्ती स्वीकार गरेका छन् ।
उनले आफू छोटो दुरीका लागि निस्किएकाले हेलमेट नलगाएको स्पष्टीकरण दिएका छन् । उनले भनेका छन्, “तपाईंहरूले अस्ति मैले हेलमेट नलगाई हिँडेको भिडिओ देख्नुभयो होला, जुन सामाजिक सञ्जालमा पुरै सर्कुलेट भइरहेको थियो । मैले खासमा मासु किन्न जानका लागि हेलमेट नलगाई हिँडेको थिएँ । तर, मासु किन्न गए पनि वा कपाल काट्न गए पनि, दुरी छोटो होस् या लामो, सुरक्षाका लागि हेलमेट अनिवार्य लगाउनुपर्ने रहेछ ।”
उनले अगाडि भनेका छन्, “ट्राफिक नियम सबैजनाले पालना गर्नुहोला, यो हाम्रै सुरक्षाका लागि हो । मैले आफ्नो गल्तीको सजाय पाइसकेको छु, तपाईंहरू पनि नियम पालना गरिदिनुहोला ।”
पछिल्लो समय सामाजिक सञ्जालमा ट्राफिक नियम उल्लङ्घन गरेको भिडिओ वा तस्बिर सार्वजनिक भएमा प्रहरीले सक्रियताका साथ कारबाही प्रक्रिया अगाडि बढाउने गरेको छ । केही दिनअघि मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पनि आफ्नो निवासको कम्पाउन्डभित्र हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडिओका आधारमा ट्राफिक कारबाहीमा परेका थिए ।
मोरङको उर्लाबारी स्थायी घर भएका गौतम नेपालका युवामाझ लोकप्रिय स्ट्रिमर हुन् । उनको युट्युब च्यानलमा ९ लाख ४३ हजारभन्दा बढी सब्सक्राइबर रहेका छन् । ट्राफिक प्रहरीले ‘बस्टेड’ (Busted) अभियानअन्तर्गत यस्ता सचेतनामूलक भिडिओ सार्वजनिक गर्दै नियम पालना गर्न सर्वसाधारणलाई आग्रह गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८३ २३:६
