close

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

टेकपाना टेकपाना

असार २६, २०८३ १२:३५

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका युवाको उपचारका क्रममा शुक्रबार निधन भएको छ । पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि विवाद हुँदा मुगुको सोरु गाउँपालिका वडा नं १ का स्थायी घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

घटनापछि तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । तर शुक्रबार बिहान करिब ११ः२० बजे उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिएका छन् । प्रहरीले गणेश नेपालीको मृत्युको पष्टि गरे पनि वीर अस्पतालले भने औपचारिक जानकारी दिएको छैन ।

२५ वर्षीय गणेश नेपाली राजधानीमा बसेर राइड शेयरिङ पेशा गर्दै आएका थिए ।  उनले बिहीबार राइड शेयरिङ गरेर राहदानी विभागको ३ नम्बर गेट नजिकै आफ्नो मोटरसाइकल रोकेका थिए । निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै नगर प्रहरीले ह्विल लक लगाएपछि उनीहरूबिच विवाद भएको थियो । नगर प्रहरीसँगको विवादपछि आक्रोशित बनेका नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर दिउँसो करिब १:४५ बजे आफ्नै शरीरमा छर्किएर आगो लगाएका थिए ।

पछिल्लो अध्यावधिक: असार २६, २०८३ १२:३५