close

कतारमा 'डाइरेक्ट हायर' भन्दै फेसबुकमा भ्रामक विज्ञापन गरी अनलाइन ठगी, ४ बंगलादेशी र एक नेपाली पक्राउ

टेकपाना टेकपाना

असार २९, २०८३ १२:१

कतारमा 'डाइरेक्ट हायर' भन्दै फेसबुकमा भ्रामक विज्ञापन गरी अनलाइन ठगी, ४ बंगलादेशी र एक नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपालीसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी, रामगोपालपुर नगरपालिका-९ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २१ वर्षीय सुभाष कुमार मण्डल र अन्य ४ जना बंगलादेशी नागरिकहरू रहेका छन् ।

बंगलादेशका २५ वर्षीय एमडी जुबाएर अहमेद, २६ वर्षीय एमडी नुर अलोम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीय एमडी रानी कमल पक्राउ परेका हुन् ।

उनीहरूले ‘कतारस्थित कम्पनीमा अन्तरवार्ताबिनै (डाइरेक्ट हायर) रोजगारी’ दिलाइदिने भन्दै फेसबुकमा भ्रामक विज्ञापन प्रकाशित गरेका थिए । त्यसपछि सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाई बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरू अनलाइन ठगीसँगै बाइनान्समार्फत क्रिप्टो तथा टेदर (यूएसडीटी) कारोबारमा समेत संलग्न रहेको खुलेको साइबर ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार उनीहरूलाई गत असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश जान लागेका बेला पक्राउ गरिएको हो । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २९, २०८३ १२:२१