close

दूरसञ्चार उपकरण फिर्ता नभएको भन्दै भरतपुरमा इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी

टेकपाना टेकपाना

भदौ १६, २०७८ १४:१८

दूरसञ्चार उपकरण फिर्ता नभएको भन्दै भरतपुरमा इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकका दूरसञ्चार उपकरण जफत गरेको र हालसम्म फिर्ता नगरेको भन्दै आईस्पान भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुने संकेत दिएको हो ।

‘हालै देशका विभिन्न ठाउँमा र विशेषगरी भरतपुरमा नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले दूरसञ्चार उपकरणहरु लुटेर लग्ने, इन्टरनेटको तार (फाइबर) काट्ने, इन्टरनेट मर्मत कार्य गर्दा अवरोध पुयाउने, इन्टरनेट सेवा प्रवाह गर्ने कार्यहरुमा बाधा उत्पन्न गर्ने र नियतवश इन्टरनेट सेवालाई अवरोध पुयाउने जस्ता दूरसञ्चार ऐन, २०५३ लाई उल्लङ्घन गर्ने क्रियाकलाप भएकाे जानकारी गराउन चाहन्छाैं,’ विज्ञप्ति जारी गर्दै आईस्पानले भनेकाे छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘हामीलाई अहिलेसम्म लुटिएका दूरसञ्चार उपकरणहरु फिर्ता दिइएको छैन र विभिन्न क्रियाकलाप गरी इन्टरनेट सेवामा अवरोध पुन्याएका कारण हामीलाई इन्टरनेट सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ ।’

विद्युत प्राधिकरणका यस किसिमका गैरकानूनी क्रियाकलापहरु नरोकिएको खण्डमा भरतपुर लगायतका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुने प्रवल सम्भावना देखिएकाले आकस्मिक बैठक बसी यसबारे ग्राहकलाई जानकारी गराइएकाे आईस्पानले जनाएकाे छ ।

भरतपुरमा इन्टरनेट सेवा अवरुद्ध भएमा सोको सम्पूर्ण जिम्मेवारी विद्युत प्राधिकरणले लिनुपर्ने आईस्पानकाे तर्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३