अब जेमनाईले याद राख्न सक्छ पुराना कुराकानी र कनेक्टेड एपको जानकारी, यसरी गर्नुहोस् प्रयोग
असार ७, २०८३ १८:६
काठमाडौं । गुगलको एआई असिस्टेन्ट जेमनाई लाइभमा प्रयोगकर्ताका लागि एउटा निकै महत्त्वपूर्ण र बहुप्रतिक्षित अपडेट आएको छ । अब जेमनाई लाइभले तपाईंका पहिलेका कुराकानीहरू याद राख्नुका साथै तपाईंको डिभाइसमा भएका विभिन्न एपहरूसँग जोडिएर सिधै काम गर्न सक्ने भएको छ ।
यसअघि जेमनाई लाइभसँग कुराकानी गर्दा प्रत्येक पटक नयाँ सन्दर्भ दिनुपर्ने बाध्यता थियो । तर, अब यो पूर्ण रूपमा तपाईंको व्यक्तिगत सहयोगी जस्तै बनेको छ । आउनुहोस्, यसका नयाँ सुविधाहरू र प्रयोग गर्ने तरिकाबारे विस्तृतमा जानौं:
१. पुराना कुराकानीको सम्झना (Memory)
जेमनाई लाइभले अब तपाईंका पुराना च्याटहरू र महत्त्वपूर्ण विवरणहरू सुरक्षित रूपमा याद राख्न सक्छ । तपाईंको खानाको रुचि, परिवारका महत्त्वपूर्ण मितिहरू वा तपाईंका सोखहरूबारे यसलाई एक पटक बताएपछि भविष्यका कुराकानीमा दोहोर्याइरहनु पर्दैन ।
२. कनेक्टेड एप्स
अब जेमनाई लाइभ सिधै जिमेल, गुगल ड्राइभ, क्यालेन्डर, म्याप्स, युट्युब, गुगल फ्लाइट्स र स्मार्ट होम जस्ता एपहरूसँग जोडिएको छ । तपाईं आवाजकै भरमा ईमेलबाट महत्त्वपूर्ण जानकारी खोज्न, क्यालेन्डरमा मिटिङ तय गर्न वा युट्युबमा भिडिओ प्ले गर्न लगाउन सक्नुहुन्छ ।
३. क्यामेरा र स्क्रिन शेयरिङ
कुराकानीकै क्रममा क्यामेरा अन गरेर तपाईंले जेमिनीलाई आफ्नो वरपरको वातावरण वा कुनै सामान देखाउन सक्नुहुन्छ । उदाहरणका लागि, कुनै औषधिको बोतल देखाएर यसको प्रयोग वा साइड इफेक्टबारे सोध्न सक्नुहुन्छ । साथै, आफ्नो मोबाइलको स्क्रिन शेयर गरेर स्क्रिनमा भएको जानकारीबारे पनि जेमनाईसँग छलफल गर्न सकिन्छ ।
४. अफिसको काममा सहजता
जेमनाई लाइभले तपाईंको अफिसको काम तथा दिनचर्यालाई पनि सजिलो बनाउँछ । यसले टु-डु लिस्ट बनाउन, प्रेजेन्टेसनको पूर्व-अभ्यास गर्न, हाकिमसँग तलब बढाउने जस्ता अप्ठ्यारा कुराकानीको नमुना अभ्यास गराउन र कामको तनाव कम गर्न सास फेर्ने अभ्यास (Mindfulness) समेत गराउन मद्दत गर्छ ।
५. बोलिरहेको बेला बीचमै रोक्न सकिने
जेमनाईले लामो जवाफ दिइरहेको छ भने तपाईंले बीचमै बोलेर त्यसलाई रोक्न र अर्को प्रश्न सोध्न सक्नुहुन्छ ।
६. मनपर्ने आवाज छान्ने सुविधा
तपाईंले भेगा, उर्स, पेगासस, नोभा जस्ता १० वटा फरक-फरक आवाज र लवजहरू (Accents) मध्येबाट आफूलाई मनपर्ने आवाज छान्न सक्नुहुन्छ ।
७. ब्याकग्राउन्ड र लक स्क्रिनमा पनि चल्ने
फोनको स्क्रिन लक भएको बेला वा अरू एप चलाइरहेको (ब्याकग्राउन्ड) बेलामा पनि जेमनाई लाइभसँग कुराकानी गरिरहन सकिन्छ । पिक्सेल बड्स मार्फत त झन् फोन नछोइकनै पूर्ण रूपमा ह्यान्ड्स-फ्री अनुभव लिन सकिन्छ ।
कसरी गर्ने प्रयोग ?
यो सुविधा प्रयोग गर्न तपाईंको गुगल अकाउन्ट व्यक्तिगत (Personal) हुनुपर्छ, उमेर १८ वर्ष पुरा भएको हुनुपर्छ र जेमनाईलाई प्राइमरी असिस्टेन्ट सेट गरेको हुनुपर्छ । यी नयाँ सुविधाहरू कसरी अन गर्ने भन्ने तरिका तल दिइएको छ:
१. मेमोरी (Memory) सेटिङ: जेमनाई एप खोल्नुहोस् । आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गरी Settings मा जानुहोस् । त्यहाँ Personal intelligence भित्र रहेको Memory विकल्पलाई 'अन' (On) गर्नुहोस् ।
२. कनेक्टेड एप्स अन गर्न: पुनः Settings मा गएर Personal intelligence भित्र रहेको Connected apps मा ट्याप गर्नुहोस् । त्यहाँ जिमेल, क्यालेन्डर, युट्युब लगायत आफूलाई आवश्यक पर्ने एपहरूलाई 'अन' गर्नुहोस् ।
३. आवाज परिवर्तन गर्न (Change Voice): Settings मा गएर Gemini's Voice मा ट्याप गर्नुहोस् । उपलब्ध विभिन्न आवाजहरू सुनेर आफूलाई मन परेको आवाज Confirm गर्नुहोस् ।
४. बीचमै रोक्ने (Interrupt) सुविधा अन गर्न: जेमिनीलाई बोलिरहेको बेला आवाजले नै रोक्नको लागि Settings मा गएर Interrupt Live responses लाई 'अन' गर्नुहोस् ।
हाल यो सुविधा अङ्ग्रेजी भाषामा उपलब्ध छ र गुगलले यसलाई क्रमिक रूपमा सबै प्रयोगकर्ता माझ पुर्याइरहेको छ । यदि तपाईंको फोनमा जेमनाई लाइभ देखिएको छैन भने गुगल एप र जेमनाई एप अपडेट गर्न नबिर्सिनुहोला ।
पछिल्लो अध्यावधिक: असार ७, २०८३ १८:६
