close

सञ्चारविहीन सुदूरपश्चिममा माइक्रोवेभ प्रविधिमार्फत् टेलिकमको भ्वाइस सेवा

टेकपाना टेकपाना

कात्तिक ३, २०७८ १७:३२

सञ्चारविहीन सुदूरपश्चिममा माइक्रोवेभ प्रविधिमार्फत् टेलिकमको भ्वाइस सेवा

काठमाडौं । दूरसञ्चार सेवा अवरुद्ध भएका सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत् भ्वाइस सेवा सञ्चालनमा ल्याएको छ ।

भारी वर्षासँगै बाढी र पहिरोले विद्युत पोल र ट्रान्सफर्मरमा क्षति पुग्दा त्यहाँका विभिन्न ठाउँमा विद्युत र सञ्चार सेवा अवरूद्ध भएको थियो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार मंगलबार दिउँसो १२ बजेदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा माइक्रोवेभ प्रविधिमार्फत भ्वाइस सेवा सञ्चालनमा ल्याइएको हो ।

तर, हालसम्म ती जिल्लामा थ्रीजी, फोरजीजस्ता सेवा भने सुरु नभएको उनले जानकारी दिए ।

‘योसँगै पश्चिमका लगभग सबै जिल्लामा अब भ्वाइस सेवा सुचारु भएको छ,’ अधिकारीले भने, ‘जहाँ सोलारमात्रै छन्, त्यस्ता ठाउँमा घाम नलागेर अझै सेवा अवरुद्ध छ । कतिपय स्थानमा फाइबर काटिएका छन् । तर, हिजोजस्तो जिल्ला नै पूर्णरुपमा दूरसञ्चार सेवाबाट वञ्चित हुनपर्ने अवस्था भने अब छैन ।’

थ्रीजी, फोरजीको हकमा भने थप केही समय लाग्ने उनले बताएका छन् । ‘हामीले आज क्षति पुगेका स्थानमा थप जनशक्ति पठाएका छौं,’ उनले भने, ‘फाइबर रिस्टोर नभएसम्म सम्पूर्ण सेवा सञ्चालनमा आउन सक्दैन । त्यसैले हामी फाइबरमा काम गर्न नेपाली सेनाको हेलिकप्टरका लागि सहकार्य गरिरहेका छौं ।’

यस्तै पूर्वमा इटहरीमा रहेको सबस्टेसन डुबानमा परेको उनले जानकारी दिए । इटहरीमा विद्युत आपूर्ति रोकिँदा हालसम्म जेनेरेटरमार्फत त्यहाँ सेवा उपलब्ध भइरहेको छ । अझै लामो समयसम्म विद्युत आपूर्तिमा समस्या आएको खण्डमा त्यहाँ बढी पावर खपत गर्ने थ्रीजी र फोरजीलाई बन्द गरेर टुजीमात्रै दिने योजना टेलिकमले बनाएको छ ।

त्यसका लागि हाल त्यहाँ पावर सिस्टम मनिटरिङको काम भइरहेको उनले बताए । निर्देशक अधिकारीका अनुसार जहाँ ब्याट्री ब्याकअप मात्रै छन्, त्यस्ता स्थानमा सेवालाई अवरुद्ध हुन नदिन थ्रीजी र फोरजीलाई बन्द गर्ने तयारी भएको छ । जहाँ जेनरेटरसमेत उपलब्ध छन्, त्यहाँ जेनरेटर पठाउने काम सुरु भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२