काठमाडौँ । एनसेलले आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा फैलाइएका भ्रामक प्रचारबाट सजग रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । कम्पनीको वार्षिकोत्सवको बहानामा नगद पुरस्कार जित्ने भन्दै ग्राहकलाई ठग्ने प्रयास भइरहेको पाइएपछि एनसेलले यस्तो चेतावनी जारी गरेको हो ।
कम्पनीका अनुसार विभिन्न फेसबुक पेज र शंकास्पद लिङ्कहरू प्रयोग गरी ‘एनसेलको वार्षिकोत्सवमा नगद जित्ने मौका’ भन्दै स्क्यामरहरूले झुटा पोस्ट, स्क्रिनशट र सन्देशहरू प्रवाह गरिरहेका छन् ।
यस्ता भ्रामक सामग्रीमार्फत प्रयोगकर्ताहरूलाई प्रलोभनमा पारेर उनीहरूको व्यक्तिगत विवरण संकलन गर्ने काम भइरहेको एनसेलको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्ता अनाधिकृत पेज वा लिङ्कहरूमा क्लिक नगर्न र आफ्ना कुनै पनि व्यक्तिगत विवरणहरू साझा नगर्न कम्पनीको आग्रह छ । यस्ता झुटा प्रचारको पछि लाग्दा व्यक्तिगत जानकारी चोरी हुने र सामाजिक सञ्जालका अकाउन्टहरू ह्याक हुने उच्च जोखिम रहने चेतावनी कम्पनीले दिएको छ ।
“यस कम्पनीले त्यस्तो कुनै योजना सञ्चालन नगरेको स्पष्ट पार्न चाहन्छौं र आधिकारिक रुपमा उपलब्ध गराएको सूचना वा कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजमा उपलब्ध जानकारीलाई मात्र विश्वास गर्नहुन अनुरोध गर्दछौं,” कम्पनीले भनेको छ ।
पछिल्लो अध्यावधिक: असार १, २०८३ १६:२८
