काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ लाई थप प्रयोगकर्तामाझ उपलब्ध गराउने भएको छ । गत महिना सार्वजनिक भएको अपरेटिङ सिस्टम अहिले केही डिभाइसमा मात्रै उपलब्ध छ भने प्रयोगकर्ता आफैंले डाउनलोड वा अपडेट गर्नुपर्ने व्यवस्था छ ।
अब भने माइक्रोसफ्टले प्रयोगकर्तालाई विन्डोज ११ मा अपग्रेड गर्न नोटिफिकेसन पठाउने भएको छ । यसै सातादेखि थप प्रयोगकर्तालाई विन्डोज ११ मा अपडेट हुन नोटिफिकेसन पठाउन थाल्ने कम्पनीले जनाएको छ ।
माइक्रोसफ्टले कुन–कुन डिभाइस प्रयोगकर्तालाई नोटिफिकेसन पठाउने भनेर खुलाएको भने छैन ।
‘विन्डोज ११ को उपलब्धता बढेको छ र थप योग्य डिभाइसमा अपग्रेडका लागि मेशिन लर्निङ मोडल प्रयाग गर्ने छौं,’ माइक्रोसफ्टले भनेको छ ।
कोही प्रयोगकर्ताले नोटिफिकेसन पाउनु अघि नै विन्डोज ११ मा अपग्रेड गर्न चाहने हो भने माइक्रोसफ्टले अहिले पनि अपग्रेड गर्ने सुविधा दिइरहेको छ ।