काठमाडौं । सफ्टवेयर प्लेटर्फम गिटहबका सीईओ नाट फ्राइडम्यानले कम्पनी छाडेका छन् । तीन वर्षदेखि कम्पनीको सीईओको रुपमा कार्यरत उनले आफ्नै स्टार्टअप कम्पनीको तयारीका लागि भन्दै राजिनामा दिएको जनाइएको छ ।
यसअघि माइक्रोसफ्टले उनको स्टार्टअप कम्पनी ‘ज्यामरिन’ खरिद गरेसँगै उनी माइक्रोसफ्टमा जोडिएका थिए । जब माइक्रोसफ्टले तीन वर्षअघि गिटहब खरिद गर्याे, त्योसँगै उनलाई गिटहबको प्रमुखको भूमिका दिइएको थियो ।
सीईओको भूमिकामा तीन वर्ष बिताएसँगै उनी गिटहबसँगै माइक्रोसफ्टबाट पूर्णरुपमा बाहिरिएका छन् ।
‘पाँच वर्ष माइक्रोसफ्टमा रहेर काम गरें,’ उनले भनेको छन्, ‘तर, अब म आफ्नै स्टार्टअपलाई पछ्याउन चाहन्छु । त्यसैले म अब मेरो जीवनको अर्को रोचकपूर्ण यात्राको तयारीमा छु । यहाँ रहेर हामीले प्रविधिको यो दुनियाँमा सफ्टवेयर निर्माताको महत्वलाई दर्शाउन सफल भएका थियौं । जुन मेरा लागि पनि एउटा अवसरको रुपमा रह्यो ।’
फ्राइडम्यानले सीईओको भूमिकाबाट बिदा लिएसँगै उनका स्थानमा थोमस दोम्कीले नियुक्त भएका छन् । उनी यसअघि गिटहबमा चिफ प्रडक्ट अफिसरको रुपमा कार्यरत थिए ।