close

अदालतले नासाको पक्षमा निर्णय गरेसँगै एलन मस्कसँग झुके बेजोस

टेकपाना टेकपाना

कात्तिक २०, २०७८ ११:१५

अदालतले नासाको पक्षमा निर्णय गरेसँगै एलन मस्कसँग झुके बेजोस

काठमाडौं । अमेरिकी अदालतले अन्तरिक्ष संस्था नासाले एलन मस्कको कम्पनी स्पेस एक्सलाई दिएको ‘मुन कन्ट्रयाक्ट’ विरुद्ध रिटमा नासाको पक्षमा निर्णय सुनाएको छ । अदालतले स्पेस एक्सलाई दिएको ‘मुन कन्ट्रयाक्ट’ कानूनअनुसार नै भएको भन्दै निर्णय सुनाएको हो ।

यसअघि एलन मस्कको कम्पनी स्पेस एक्सलाई नासाले ‘मुन कन्ट्रयाक्ट’ दिएसँगै अमेजनका मालिक तथा पूर्वसीईओ जेफ बेजोस अदालत पुगेका थिए ।

स्पेस एक्स एक्लैलाई उक्त परियोजना दिनुमा नासाको केही आधारभूत समस्या रहेको र यो अनुचित भएको भन्दै उनी अदालतको शरणमा गएका थिए । तर, अदालतले पनि नासाको पक्षमा निर्णय सुनाएसँगै बेजोसको नासाको उक्त परियोजना लिन सम्भावना सकिएको छ ।

नासाले सन् २०२४ भित्र चन्द्रमाको सतहमा सुरक्षित रुपमा अवतरण गर्नका लागि ‘ल्यान्डिङ क्राफ्ट’ निर्माण गर्ने परियोजना अघि बढाएको छ । त्यसका लागि नासाले गएको अप्रिल महिनामा स्पेस एक्ससँग सम्झौता गरेको थियो ।

प्रारम्भिक चरणमा दुई वटा कम्पनीलाई छनोट गर्ने नासाको योजना थियो । तर, बजेट अभावका कारण अन्त्यमा एउटा मात्रै कम्पनी स्पेस एक्सलाई २.९ अर्ब डलरमा उक्त कामको जिम्मा दिएको थियो ।

उक्त ठेक्कामा जेफ बेजोसको कम्पनी ब्लु ओरिजन समेत समावेश भएको थियो । तर, नासाले ब्लु ओरिजनको प्रस्तावलाई नकार्दै अनुभवका आधारमा स्पेस एक्स छनोट गरेको थियो ।

त्यतिमात्रै नभएर स्पेस एक्सले बेजोसको कम्पनी ब्लु ओरिजनको तुलनामा कम रकम समेत कम राखेको थियो । यसरी उक्त परियोजना मस्कको कम्पनी स्पेस एक्ससँग पुगेसँगै केही समयअघि बेजोसले ‘मुन कन्ट्रयाक्ट’ परियोजना २ अर्ब डलरमै गर्नसक्ने भन्दै आफ्नो कम्पनीलाई प्रदान गर्न आग्रह गरेका थिए ।

उक्त विषय अमेरिकाको गभर्मेन्ट अकाउन्टेबिलिटी अफिस (जीएओ) ले अध्ययनसमेत गरेको थियो । जीएओले पनि उक्त विषयमा एलन मस्कको कम्पनीलाई दिएको निर्णय ठीक भएको भनी जवाफ दिएसँगै बेजोस अदालत पुगेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५