close

अब अकाउन्ट नभए पनि ट्वीटरको स्पेस सुन्न सकिने

टेकपाना टेकपाना

कात्तिक २०, २०७८ १०:४२

अब अकाउन्ट नभए पनि ट्वीटरको स्पेस सुन्न सकिने

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो लोकप्रिय अडियो फिचर स्पेस सम्बन्धी महत्वपूर्ण घोषणा गरेको छ । कम्पनीले ट्वीटर अकाउन्ट नभएका प्रयोगकर्ताले समेत स्पेसको कुराकानी सुन्न सकिने फिचर ल्याउने भएको हो ।

स्पेस ट्वीटरको अडियो कुराकानी गर्न सकिने फिचर हो । जहाँ प्रयोगकर्ताहरूले एकआपसमा कुराकानी गर्न सक्छन् । कुनै निश्चित विषयवस्तुमा डिबेट तथा छलफल गर्न सक्छन् ।

तर स्पेसको यस किसिमको सुविधा अहिलेसम्म ट्वीटर प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो । ट्वीटरले नयाँ र महत्वपूर्ण घोषणामार्फत ट्वीटर प्रयोग नगर्ने व्यक्तिले समेत स्पेस सुन्न सकिने बताएको हो ।

यसका लागि होस्ट गरिएको स्पेसको लिङ्क जोकसैसँग पनि शेयर गर्न सकिनेछ । यस्तो लिङ्क खोल्ने बित्तिकै तपाईं उक्त स्पेसमा जोडिन सक्नुहुनेछ । यस किसिमको लिङ्कबाट ट्वीटर वेब खुल्छ । जहाँ तपाईंले स्पेसको कुराकानी सुन्न सक्नुहुन्छ ।

यसका लागि तपाईंलाई ट्वीटर एपको समेत आवश्यकता पर्दैन । किन कि यस्तो लिङ्क मोबाइल वा कम्प्युटरको वेब ब्राउजरमा सजिलै खुल्छ । अकाउन्ट नहुँदा पनि ट्वीटर स्पेसमा जोडिन सकिए पनि स्पिकर बन्ने सुविधा भने यसमा हुने छैन ।

स्पिकर बन्नका लागि भने तपाईंलाई ट्वीटर अकाउन्ट जरुरी हुन्छ । पछिल्लो समय ट्वीटर आफ्नो अडियो ब्रोडकास्ट फिचर स्पेसमा निकै महत्त्वका साथ काम गरिरहेको छ । यसैक्रममा यो नयाँ फिचर पनि थपिएको हो ।

सुरुवाती समयमा होस्टको अप्सन रहेकोमा पछिल्लो समय को-होस्टको विकल्प पनि उपलब्ध भएको छ । हालै मात्र ट्वीटरले टिकेट स्पेसको घोषणा समेत गरेको छ । यसको माध्यमबाट स्पेस होस्ट गर्नेहरूले आफ्नो स्पेसमा सहभागी हुन चाहनेहरूलाई टिकेट बिक्री गर्न सक्नेछन् ।

यसबाट स्पेस होस्ट गरेर आम्दानी समेत गर्न सकिनेछ । ट्वीटरले हालै एपको तल स्पेसको आइकन समेत थप गरेको छ । यसमा ट्याप गरेर तपाईंले कुन स्पेस चलिरहेको छ भनेर हेर्न सक्नुहुन्छ । साथै आफूलाई उपयुक्त लागेको विषयवस्तुको स्पेस रोजेर त्यसमा जोडिन पनि पाउनु हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५