close

नेपालमै पहिलो पटक क्लासिक टेकले ल्यायो १००० एमबीपीएस गतिको इन्टरनेट प्याकेज

टेकपाना टेकपाना

पुस २७, २०७८ २०:५८

नेपालमै पहिलो पटक क्लासिक टेकले ल्यायो १००० एमबीपीएस गतिको इन्टरनेट प्याकेज

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक एक हजार एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले यस अघि नै घोषणा गरिसकेको प्याकेज मङ्गलबार एक कार्यक्रमबीच बजारमा ल्याएको हो ।

यस अघि नेपालको सबैभन्दा उच्च गतिको इन्टरनेटको रुपमा वर्ल्डलिङ्कको ६०० एमबीपीएस गतिको प्याकेज रहेको थियो । उच्च गतिको इन्टरनेट प्याकेजलाई क्लासिक टेकले टायकनको नाममा ब्रान्डिङ गरेको छ ।

कम्पनीका अनुसार एक हजार एमबीपीएस गतिको इन्टरनेट प्याकेजमा तीन ओटा आईपीटिभी समेत राखिएको छ । जसका लागि वार्षिक मूल्य ४७ हजार ९८८ रुपैयाँ राखिएको छ ।

यसको अर्थ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई यो प्याकेजमा मासिक तीन हजार ९९९ रुपैयाँ पर्नेछ । प्याकेजमा इन्स्टलेसन, एफटीटीएच केबल र डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यद्यपि राउटरका लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्नेछ । साथै आईपीटिभी सेटटप बक्सका लागि समेत ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने उल्लेख छ । यस बाहेक कम्पनीले ६२५ एमबीपीएस, ३२५ एमबीपीएस, २२५ एमबीपीएस र १५० एमबीपीएस गतिका अन्य प्याकेजहरू पनि ल्याएको छ ।

जसमा वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले मासिक २४९९ रुपैयाँमा ६२५ एमबीपीएस, ३२५ एमबीपीएसका लागि १६४९ रुपैयाँ, २२५ एमबीपीएसका लागि १३९९ रुपैयाँ र १५० एमबीपीएसका लागि ११९९ रुपैयाँ मूल्य राखिएको छ । 

जसमा १५० एमबीपीएस गतिको इन्टरनेटमा एउटा आईपीटिभी र बाँकी २२५ एमबीपीएस र ३२५ एमबीपीएसमा दुई ओटा आईपीटिभी र ६२५ एमबीपीएस प्याकेजमा तीन ओटा आपीटिभी दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२