close

ह्वाट्सएपको नयाँ ‘प्लस’ मोडेलः मासिक १४५ रुपैयाँमा नयाँ के पाइन्छ ?

टेकपाना टेकपाना

असार ७, २०८३ १४:१२

ह्वाट्सएपको नयाँ ‘प्लस’ मोडेलः मासिक १४५ रुपैयाँमा नयाँ के पाइन्छ ?

काठमाडौँ । मेसेजिङ एप ह्वाट्सएप सधैं निःशुल्क रहँदै आएको छ र अधिकांश प्रयोगकर्ताका लागि यो नै पर्याप्त पनि थियो । तर, अहिले मेटाले प्रयोगकर्तालाई आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न थोरै अतिरिक्त शुल्क तिर्ने विकल्प ल्याएको छ । यसै अन्तर्गत ह्वाट्सएपको पहिलो सब्सक्रिप्सन प्लान ‘ह्वाट्सएप प्लस’ नेपालसहित विश्वका विभिन्न देशमा एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि आधिकारिक रूपमा उपलब्ध भइसकेको छ । 

मेटाले गत महिना आफ्ना प्रमुख सामाजिक सञ्जाल प्लेटफर्म, खासगरी ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुकका लागि सब्सक्रिप्सन प्लान ल्याउने घोषणा गरेअनुरूप यो कदम चालिएको हो ।

मासिक ०.९५ डलर (करिब १४२ रुपैयाँ) शुल्क तोकिएको ह्वाट्सएप प्लस मुख्य रूपमा एउटा कस्टमाइजेसन प्याक हो । यस प्लानमार्फत प्रयोगकर्ताले एपको स्वरूप परिवर्तन गर्न १८ वटा नयाँ रङ्गीन थिम प्रयोग गर्न सक्नेछन् । यसमा भाइब्रेन्ट ब्लु, रोयल पर्पल, फरेस्ट ग्रीन, फुसिया पिंक जस्ता थिम समावेश छन् । 

यसका साथै प्रयोगकर्ताले एपको डिफल्ट आइकनलाई परिवर्तन गर्न सक्नेछन् । सफा र साधारणदेखि कलात्मक डिजाइनका १४ वटा नयाँ आइकनमध्ये आफूलाई मनपर्ने आइकन रोज्न पाउँछन् ।

आइकन परिवर्तन बाहेक यो सब्सक्रिप्सनमा फ्लटर, रिपल, मेडो र कार्निभल जस्ता नाम गरिएका १० वटा रिङटोन उपलब्ध गराइएका छन् । यसका साथै प्रयोगकर्ताले विशेष स्टिकर प्याक पाउँछन् र च्याट लिस्टको सबैभन्दा माथि २० वटासम्म च्याट पिन गर्न सक्छन् । यो सामान्य सीमाभन्दा बढी हो ।

प्रयोगकर्ताले आफ्ना च्याट लिस्टलाई आफू अनुकूल व्यवस्थापन गर्न सक्ने सुविधा यस मोडेलमा दिइएको छ । यसमा ध्यान दिनु पर्ने कुरा के हो भने ह्वाट्सएप प्लसले यसका आधारभूत सुविधामा कुनै परिवर्तन गर्दैन । कल, स्ट्याटस अपडेट र इन्ड-टु-इन्ड इन्क्रिप्सन जस्ता सुविधा पहिले जस्तै रहनेछन् र सबैका लागि निःशुल्क नै उपलब्ध हुने मेटाले जनाएको छ ।

ह्वाट्सएप प्लस सब्सक्राइब गर्नका लागि नेपाली प्रयोगकर्ताले डलर कार्डको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले ह्वाट्सएप खोलेर माथि दाँयापट्टि रहेको तीन वटा डटमा ट्याप गर्नुहोस् । अनि अन्तिममा रहेको सेटिङ्समा जानुहोस् । त्यसपछि ‘सब्स्क्रिप्सन’ को अप्सनमा ट्याप गर्नुहोस् । र, त्यहाँ रहेको ‘ह्वाट्सएप प्लस’को अप्सनमा जानुहोस् । यो सब्सक्रिप्सन पहिलो महिनाका लागि निःशुल्क उपलब्ध गराइएको छ । त्यसका लागि तलपट्टि रहेको ‘Start your free month’ को अप्सनमा ट्याप गर्नुहोस् । र, कार्ड नम्बर राखेर, सेभ कार्ड गरी सब्स्क्राइब गर्नुहोस् ।

प्रक्रिया पूरा भएपछि ह्वाट्सएप प्लस सक्रिय भएको पुष्टि गर्ने सूचना प्राप्त हुनेछ । तर यदि ‘Subscriptions’ को अप्सन देखिएको छैन भने यो सुविधा तपाईंका लागि उपलब्ध नभएको हुन सक्छ । सब्सक्रिप्सन लिएपछि सबै फिचर सेटिङ्सभित्र सब्सक्रिप्सन हुँदै ह्वाट्सएप प्लसमा देखिनेछन् र त्यहाँबाट जुनसुकै फिचर सजिलै प्रयोग गर्न सकिनेछ ।

यो प्लान लिने वा नलिने भन्ने निर्णय पूर्ण रूपमा तपाईं आफ्नो ह्वाट्सएपलाई कत्तिको व्यक्तिगत बनाउन चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ । यदि तपाईं दिनभरि नै यो एप प्रयोग गर्नुहुन्छ र यसलाई आफ्नो चाहना अनुसार सजाउन चाहनुहुन्छ भने मासिक करिब १४५ रुपैयाँ ठुलो रकम नहुन सक्छ । तर, यदि तपाईं हालको ह्वाट्सएपको डिजाइन, थिम र कामसँग सन्तुष्ट हुनुहुन्छ भने यसमा आधारभूत अनुभव परिवर्तन गर्ने कुनै विशेष कुरा छैन र यसलाई नकिन्दा पनि कुनै महत्त्वपूर्ण सुविधा छुट्ने छैनन् ।

पछिल्लो अध्यावधिक: असार ७, २०८३ १४:१७