close

गुगल ड्राइभमा आयो जिमेलको नयाँ फिचर, अब फाइल तथा फोल्डर खोज्न सहज हुने

टेकपाना टेकपाना

फागुन ६, २०७८ ९:१६

गुगल ड्राइभमा आयो जिमेलको नयाँ फिचर, अब फाइल तथा फोल्डर खोज्न सहज हुने

काठमाडौं । गुगलले लगातार रुपमा जिमेल, गुगल ड्राइभ र गुगल डक्स सहित आफ्नो वर्क स्पेसका लागि नयाँ फिचर ल्याउँदै आएको छ । कम्पनीले सन् २०२० मै जिमेलका लागि ‘सर्च चिप्स’ रोलआउट गरेको थियो, जसले अट्याचमेन्ट, प्रेसक र अन्य डेटाको आधारमा सर्च रिजल्ट फिल्टर गर्न निकै सहज बनायो ।

गुगलको नयाँ ब्लग पोस्टअनुसार अब कम्पनीले गुगल ड्राइभमा समेत त्यस्तै फिचर थप गरिरहेको छ । गुगलले आफ्नो वर्कस्पेस अपडेट ब्लगमा लेखेको छ, ‘नोभेम्बर २०२१ मा हामीले गुगल ड्राइभका लागि ‘सर्च चिप्स’को बेटा घोषणा गरेका थियौँ ।

जसले प्रयोगकर्तालाई सान्दर्भिक फाइल छिटो फेलापार्न सघाउनेछ र थुप्रै पटक सर्च गर्ने झन्झट हटाउनेछ । ‘सर्च चिप्स’ सामान्यतया अहिले सबैजसो प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ ।’

जिमेलमा जस्तै, जब तपाईँ गुगल ड्राइभमा सर्च गर्न खोज्नुहुन्छ, नयाँ बटन र ड्रप डाउन मेनु (समग्रतामा यसैलाई चिप्स भन्ने गरिन्छ) देखा पर्छ । यो ‘चिप्स’ले तपाईँलाई लोकेसन, फाइलको किसिम, डकुमेन्टको अथर, अन्तिम पटक परिवर्तन गरिएको मिति र अन्य डेटाको आधारमा तत्कालै फिल्टर गर्ने सुविधा दिन्छ ।

गुगलका अनुसार गत वर्ष बेटा सार्वजनिक गर्दाको समयमा भन्दा यो पटक केही नयाँ सुधारका कुराहरू पनि यसमा देख्न सकिनेछ । सर्च चिप्ससँगै स्पेलिङ सजेसन (हिज्जेका लागि सुझाव) देख्न सकिन्छ। त्यसका साथै ‘लास्ट मोडिफाइड’ को नाममा नयाँ डेट अप्सन पनि यसमा रहेको छ ।

यो नयाँ सुविधा विश्वभरका गुगल ड्राइभ प्रयोगकर्ताका लागि उपलब्ध हुने क्रम सुरु भएको छ । जसमा व्यक्तिगत जिमेल अकाउन्ट र वर्क स्पेस अकाउन्ट दुवै प्रयोगकर्ताहरू रहेका छन् । यद्यपि यो फिचर अहिलेलाई वेब एपमा मात्रै पाउन सकिनेछ । गुगल ड्राइभको एन्ड्रोइड तथा आईओएस एपमा भने तपाईँले तत्काललाई पुरानै सर्च फिचरमा चित्त बुझाउनुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२