close

काठमाडौँका विभिन्न ६ रुटमा टेलिफोन तथा इन्टरनेटका तार १५ दिनभित्र भूमिगत गरिने

टेकपाना टेकपाना

जेठ २९, २०८३ १०:१५

काठमाडौँका विभिन्न ६ रुटमा टेलिफोन तथा इन्टरनेटका तार १५ दिनभित्र भूमिगत गरिने

काठमाडौँ । सहरी क्षेत्रको सौन्दर्य बढाउन र सार्वजनिक सुरक्षामा सुधार ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँका विभिन्न ६ वटा मुख्य रुटहरूमा टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन र भूमिगत गर्ने कार्य अगाडि बढाएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले यस कार्यलाई १५ दिनभित्र चरणबद्ध रूपमा सम्पन्न गर्ने जानकारी दिएको हो ।

सडक छेउका पोलहरूमा गुजुल्टो परेका, चुँडिएका र लत्रिएका तारहरूले सहरी सौन्दर्यमा ह्रास ल्याएका छन् । साथै सार्वजनिक सुरक्षा र आवागमनमा समेत जोखिम उत्पन्न गराएको भन्दै प्राधिकरणले यो कदम चालेको हो ।

यस व्यवस्थापन कार्यअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको भूमिगत संरचना उपलब्ध भएका क्षेत्रहरूमा रहेका अव्यवस्थित तथा प्रयोगमा नरहेका तारहरूलाई हटाइने र अन्य तारहरूलाई सुरक्षित तथा प्रभावकारी रूपमा व्यवस्थित गरिनेछ । प्राधिकरणले ६ वटा रुटमा तत्काल तार व्यवस्थापन गरिने जनाएको छ ।

जसमा त्रिपुरेश्वर-कालिमाटी-कलंकी, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर-गौशाला-चाबहिल रहेका छन् ।

प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई यस कार्यमा दैनिक रूपमा संलग्न भई आफ्ना तारहरूको व्यवस्थापन गर्न निर्देशन दिएको छ । यसका साथै, सेवा प्रदायकहरूले आफ्ना तारहरूमा स्पष्ट रूपमा संस्थाको पहिचान खुल्ने गरी अनिवार्य रूपमा ट्याग राख्नुपर्नेछ ।

तार व्यवस्थापनका क्रममा सम्बन्धित सेवा प्रदायकको प्रतिनिधि उपस्थित नभएमा वा तारमा आवश्यक पहिचान खुल्ने ट्याग नरहेको कारणले तारको पहिचान हुन नसकी काटिएमा, हटाइएमा वा अन्य कुनै क्षति पुग्न गएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सेवा प्रदायक स्वयंले लिनुपर्नेछ ।

यसका अतिरिक्त, अब उप्रान्त सेवा प्रदायकहरूले आफ्नो नेटवर्कको विकास, विस्तार, मर्मत सम्भार तथा पुनः व्यवस्थापन गर्दा मापदण्ड समेत निश्चित गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको 'अप्टिकल फाइबर नेटवर्क बिछ्याउने र मर्मत सम्भार गर्ने निर्देशिका' बमोजिम मात्र कार्य गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १०:१५