काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले नेपाली बजारमा ‘रेड्मी नोट ११एस’ र ‘रेड्मी नोट ११ प्रो फाइभजी’ स्मार्टफाेन सार्वजनिक गरेको छ ।
क्यामेरा प्रविधि, चार्जिङ स्पिड, डिस्प्लेमा आमूल परिवर्तन गर्दै नेपाली ग्राहकमाझ यी फोन उपलब्ध गराएको कम्पनीले जनाएकाे छ ।
‘हामीले जुनैपनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौ,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पन्डाले भने, ‘त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरैभन्दा धेरै मानिससम्म सहज रुपमा पुर्याउन चाहन्छौं ।
उनले अगाडि थपे, ‘हामीले अहिले सार्वजनिक गरेको रेड्मी नोट ११एस र रेड्मी नोट ११ प्रो फाइभजीले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाउन मद्दत गर्नुका साथै प्रविधिलाई सुलभ मूल्यमा सर्वसाधारणसम्म पुर्याउने छ ।’
क्यामेरा
फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ । साथै ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामरा दिइएकाे छ, जसबाट ११८ डिग्रीसम्मको फोटो लिन सकिन्छ ।
फोनमा २ मेगापिक्सेलको म्याक्रो क्यामराका साथै २ एमपीको डेप्थ क्यामेरा लेन्स छ । फाेनकाे अगाडि लागि १६ मेगापिक्सेलको क्यामेरा छ, जसले क्लियर र नेचुरल सेल्फी लिन सहयोग पुर्याउने दावी कम्पनीको छ ।
प्रविधि
फोनमा १२० हर्जको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ रेट भएको रेड्मी नोट ११एस र रेड्मी नोट ११ प्रो फाइभजीमा ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमेसन र प्रि-साइज फिङ्गर टचले प्रयोगकर्ताहरुलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिन्छ । यी २ वटै फोनमा फुलएचडी प्लस एमाेलेड डट डिस्प्ले रहेको छ ।
रेड्मी नोट ११ प्रो फाइभजी एड्भान्स्ड अक्टाकोर स्न्यापड्रागन ६९५ प्रासेसर रहेको छ । यस्तै रेड्मी नोट ११ एस एड्भान्स्ड अक्टाकोर मिडियाटेक हेलियो जी९६ प्रोसेसर, ८ जीबी र्याम र फाइभजी सपोर्ट गर्ने चिपसेट रहेको छ । साथै यो दुईवटै डिभाइसमा ५,००० एमएएचको ब्याट्री रहेको छ ।
रेड्मी नोट ११ प्रो फाइभजीमा भएको फ्ल्यागशिप ६७ वाटको टर्बो चार्जिङले १५ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ भने रेड्मी नोट ११एस मा ३३ वाटको प्रो फास्ट चार्जिङ छ, जसले एक घण्टामै ब्याट्री फुल चार्ज गर्ने कम्पनीको दावी छ ।
मूल्य तथा उपलब्धता
रेड्मी नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेड्मी नोट ११ प्रो फाइभजी ग्रेफाइट ग्रे, पोलरव्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ ।
यी दुईवटै फोनहरु ६ जीबी र्याम र १२८ जीबी रोम तथा ८ जीबी र्याम र १२८ जीबी रोम भर्सनमा अनलाइन र रिटेलमा यही चैत्र २७ गतेदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रेड्मी नोट ११एसको ६ जीबी र्याम भेरियन्टकाे बजार मूल्य २९ हजार ९९९ र ८ जीबी र्याम भेरियन्टकाे ३१ हजार ९९९ ताेकिएकाे छ ।
त्यस्तै रेड्मी नोट ११ प्रो फाइभजीको मूल्य ६ जीबी र्याम भेरियन्टकाे ३६,९९९ र ८ जीबी र्याम भेरियन्टकाे ३९,९९९ रुपैयाँ रहेको छ ।