close

नायिका सुष्मा कार्कीको फेसबुक पेज ‘बिक्री’, यस्तो छ सामाजिक सञ्जालबाट टाढिनुको रहस्य 

टेकपाना टेकपाना

चैत २३, २०७८ १९:८

नायिका सुष्मा कार्कीको फेसबुक पेज ‘बिक्री’, यस्तो छ सामाजिक सञ्जालबाट टाढिनुको रहस्य 

काठमाडौं । ‘मेरो एउटा साथी छ’ फिल्मबाट सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल सुष्मा कार्कीको आधिकारिक फेसबुक पेज ‘बिक्री’ भएको पाइएको छ । बेलाबेलामा गसिपकी पात्र बनिरहने उनले नकारात्मक कमेन्ट आउने क्रम बढ्दै गएपछि एक मिडिया कम्पनीलाई आफ्नो फेसबुक पेज ‘बिक्री’ गरेकी हुन् । 

फेसबुकले आधिकारिक अकाउन्टका रूपमा पुष्टि गरेको उनको फेसबुक पेजको नाम र युजरनेम परिवर्तन भइसक्दा पनि भेरिफाइड ब्याज भने हटेको छैन ।

पेज बिक्री गरेको विषय भने उनी स्वीकार गर्दिनन् । टेकपानासँग कुरा गर्दै कार्कीले आफ्नो आधिकारिक फेसबुक पेज अरू कसैको चासोको विषय नरहेको जवाफ दिएकी छन् । 

उनी भन्छिन्, ‘मैले पेजमा आफ्नो फोटो राख्दा नकारात्मक कमेन्ट धेरै आउन थालेपछि उक्त पेज नै अरुलाई दिएकी हुँ । म अहिले पूर्ण रूपमा सामाजिक सञ्जालबाट बाहिर छु ।’ 

फेसबुक बाहेक इन्स्टाग्राममा समेत नायिका सुष्माको भेरिफाइड अकाउन्ट रहेको छ । उनले भनेजस्तै करिब ५७ हजार फलोअर रहेको उक्त अकाउन्टबाट उनले सबै पोस्ट हटाएकी छिन् ।  

यसबाहेक नायिका कार्कीले थप जानकारी दिन चाहिनन् । सार्वजनिक व्यक्तित्वले आफ्नो अकाउन्ट अन्य कोही व्यक्ति वा संस्थालाई उनीहरूको प्रयोजनका लागि प्रयोग गर्न दिनु आफैंमा गम्भीर विषय हो । 

हेर्नुहोस् नायिका सुष्मा कार्कीको आधिकारिक फेसबुक पेजको ‘पेज ट्रान्सपरेन्सी’ रिपोर्ट

सिने क्षेत्रका कलाकार र अन्य चर्चित व्यक्तित्वलाई सर्वसाधारण मानिसले समाजिक सञ्जालमा फलो गर्ने गर्छन् । यसै पनि कलाकार सधैँ सर्वसाधारणका लागि चासोका विषय हुन्छन् ।

त्यसो त आधिकारिक समेत पुष्टि भइसकेको अकाउन्ट अन्य व्यक्ति वा संस्थाले आफ्नो प्रयोजनका लागि प्रयोग गर्नु फेसबुकको नीति विपरीत मानिन्छ । एउटा सिने क्षेत्रकी नायिकालाई सिने क्षेत्र वा उनले गरेका गतिविधि बारे चासो राख्दै प्रायले सामाजिक सञ्जालमा फलो गरेका हुन् ।

उनको नाम देखेरै फलो गर्नेहरूले सो पेजबाट ती व्यक्ति वा संस्थाबाट सोही किसिमको अपडेट पाउने आशा राखेका हुन्छन् । यसरी लाखौँले जुन व्यक्तिलाई फलो गरेका हुन्छन्, त्यसको नाम परिवर्तन हुँदा सो पेजबाट उनीहरूको चासोभन्दा बाहिरका सामग्री आउँछन् ।

जुन नायिका सुष्माका फ्यान तथा फलोअरका लागि धोका र निराशाको विषय हो । अझ ‘भेरिफाइड’ अर्थात् आधिकारिक समेत पुष्टि भइसकेको पेजको नाम परिवर्तन गरेर अन्य व्यक्ति वा कम्पनीलाई दिनु फेसबुकको नीति विपरीत हुन जान्छ ।

सन् २०१३ मा सुष्मा कार्कीको नाममा रहेको सो पेज फेसबुकले आधिकारिक भएको पुष्टि गरेको थियो । सोही आधिकारिक पेज २२ नोभेम्बर २०२१ मा ‘पूर्ण पाठ’ नाममा परिवर्तन गरिएको थियो ।

‘पूर्ण पाठ’ रहेको सो पेजमा अहिले नौ लाखभन्दा बढी फलोअर छन् । सो पेजलाई फलो गर्ने अधिकांशले सुष्मा कार्की भनेरै फलो गरेका थिए । सामान्यतया आधिकारिक पुष्टि भइसकेको पेजको युजरनेम वा नाम परिवर्तन गर्दा फेसबुकले भेरिफिकेसन ब्याज हटाइदिन्छ ।

तर, ‘पूर्ण पाठ’ नाम रहेको सो पेजबाट भने आजको दिनसम्म पनि भेरिफिकेसन ब्याज हटेको छैन । हाल सो पेजमा ‘पूर्ण पाठ डटकम’बाट प्रकाशित हुने समाचारका लिङ्क पोस्ट हुने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५